राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनका अवसरमा शुभकामना मन्तव्यका लागि विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूलाई निमन्त्रणा गरेको छ।
सभापति रवि लामिछानेको तर्फबाट महामन्त्री कबिन्द्र बुर्लाकोटीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायत प्रमुख दलका शीर्ष नेताहरूलाई औपचारिक निमन्त्रणा पठाएका हुन्।
कांग्रेस सभापति गगन थापाले महाधिवेशनमा सहभागी हुनेबारे हालसम्म अन्तिम निर्णय नगरेको उनका सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उहाँको सहभागिताबारे छलफल जारी छ।
तर, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने महाधिवेशनमा सहभागी नहुने भएका छन्। अध्यक्ष ओलीका स्वकीय सचिव निरु पालले उहाँ उपस्थित नहुने जानकारी दिँदै अन्य प्रतिनिधि पठाउने विषयमा समेत निर्णय नभएको बताइन्।
यता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने स्वास्थ्य अवस्था अनुकूल भए स्वयं उपस्थित हुने बताइएको छ। नेकपा नेता देवेन्द्र पौडेलका अनुसार स्वास्थ्यले साथ दिए प्रचण्ड आफैं महाधिवेशनमा जाने तयारीमा छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन भने रास्वपाको महाधिवेशनमा शुभकामना मन्तव्य दिन जाने कार्यक्रम तय भएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
रास्वपाको पहिलो महाधिवेशनलाई प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता वा अनुपस्थितिले थप चासोको केन्द्र बनाएको छ।