सह–आयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ मा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्ने पहिलो राष्ट्र बनेको छ।
ग्वाडालाजारामा भएको समूह ‘ए’ अन्तर्गतको खेलमा मेक्सिकोका मिडफिल्डर लुइस रोमोले ५०औँ मिनेटमा निर्णायक गोल गरे। दक्षिण कोरियाका गोलरक्षक किम सुङ–ग्युले आफ्नै टोलीका खेलाडी ली गी–ह्युकसँग ठोक्किएपछि बल नियन्त्रण गर्न नसक्दा रोमोले खाली पोस्टमा सहज गोल गरेका थिए।
दक्षिण कोरियाले खेलको अन्त्यतिर बराबरी गोल गर्ने अवसर सिर्जना गरे पनि सफल हुन सकेन। ८७औँ मिनेटमा चो ग्यु–सुङको नजिकबाट गरेको हेडर मेक्सिकोका गोलरक्षक राउल रान्गेलले उत्कृष्ट बचाउ गरे। त्यसपछि याङ ह्युन–जुनको रिबाउन्ड प्रहार पनि रान्गेलले रोकेका थिए।
यसअघि कप्तान सोन ह्युङ–मिनले गोलरक्षकलाई छलेर गरेको प्रहार एड्सन अल्भारेजले गोललाइनबाट क्लियर गरेका थिए। यद्यपि, त्यस अवसरमा सोन अफसाइड रहेको संकेत गरिएको थियो।
पहिलो हाफमा प्रभावहीन प्रदर्शन गरेपछि घरेलु समर्थकबाट आलोचना खेपेको मेक्सिकोले दोस्रो हाफमा खेलमा सुधार ल्याएको थियो। ७५औँ मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गर्ने अवसर पाए पनि उनको प्रहार दक्षिण कोरियाली गोलरक्षक किमले बचाएका थिए। वैकल्पिक खेलाडी ओबेद भार्गासको शक्तिशाली प्रहार पनि किमले उत्कृष्ट डाइभिङ बचाउ गर्दै गोल हुन दिएनन्।
यो जितसँगै मेक्सिकोले विश्वकपमा लगातार दोस्रो जित दर्ता गर्दै शतप्रतिशत नतिजा कायम राखेको छ। साथै, प्रशिक्षक हाभियर अगिरेको टोली समूह ‘ए’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
समूह चरणको अन्तिम खेल मेक्सिकोले चेक गणतन्त्रसँग खेल्नेछ। नकआउट चरणमा पुगेपछि मेक्सिकोले आफ्नो अन्तिम ३२ र सम्भावित अन्तिम १६ को खेल पनि मेक्सिको सिटीमै खेल्नेछ।
पराजयका बाबजुद दक्षिण कोरिया भने प्रतियोगिताबाट बाहिरिएको छैन। पहिलो खेलमा चेक गणतन्त्रलाई हराएको दक्षिण कोरिया अझै पनि अर्को चरणमा पुग्ने बलियो अवस्थामा छ। अब उसले आगामी बिहीबार मोन्टेरेमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।