फिफा विश्वकप २०२६ अन्तर्गत आज टेक्सासमा हुने समूह चरणको खेलमा अफ्रिकी टोली कङ्गो डीआरले आफ्नो विश्वकप पुनरागमनको यात्रा युरोपेली महारथी पोर्चुगलविरुद्धबाट सुरु गर्दैछ। ५२ वर्षपछि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा फर्किएको कङ्गोका लागि यो खेल केवल तीन अंकको लडाइँ मात्र नभई आफूलाई विश्वसामु प्रमाणित गर्ने अवसर पनि हो।
सन् १९७४ पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको कङ्गो डीआरले मेक्सिकोमा सम्पन्न प्ले-अफको फाइनलमा जमैकालाई १–० ले पराजित गर्दै प्रतियोगितामा स्थान सुरक्षित गरेको थियो। त्यसयता टोलीको आत्मविश्वास उच्च देखिएको छ र विश्व फुटबलका स्थापित शक्तिमध्ये एक पोर्चुगललाई चुनौती दिने तयारीमा छ।
यता, पोर्चुगल भने पहिलो विश्वकप उपाधिको खोजीमा मैदान उत्रिरहेको छ। छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको पोर्चुगलले छ खेलमा २० गोल गर्दै आफ्नो आक्रामक क्षमता प्रमाणित गरेको थियो। अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको टोली उपाधि दाबेदारका रूपमा हेरिएको छ।
दुवै टोलीबीच यसअघि कुनै पनि आधिकारिक अन्तर्राष्ट्रिय खेल नभएकोले आजको भेट ऐतिहासिक बन्नेछ। विश्व वरीयता, अनुभव र टोलीको गहिराइका आधारमा पोर्चुगललाई बलियो दाबेदार मानिए पनि कङ्गोको जुझारु शैली र रक्षात्मक अनुशासनले खेललाई प्रतिस्पर्धात्मक बनाउन सक्ने अनुमान गरिएको छ।
पोर्चुगल पछिल्ला पाँच खेलमा अपराजित रहँदै चार जित र एक बराबरीको नतिजासहित मैदान उत्रिएको छ। कङ्गोले भने सोही अवधिमा दुई जित, दुई हार र एक बराबरी खेलेको छ।
खेलमा सबैको नजर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि रहनेछ। ४१ वर्षीय रोनाल्डो आफ्नो कीर्तिमानी छैटौँ विश्वकप खेल्दै छन्। उनीसँगै मिडफिल्डमा ब्रुनो फर्नान्डेज र रक्षापङ्क्तिमा रुबेन डियाज पोर्चुगलका मुख्य आधार रहनेछन्।
कङ्गोका लागि योआन विसा आक्रमणका प्रमुख हतियार हुन्। तीव्र गतिका फरवार्ड विसाले काउन्टर आक्रमणमार्फत पोर्चुगलको डिफेन्सलाई चुनौती दिन सक्ने अपेक्षा गरिएको छ। कप्तान चान्सल म्बेम्बाले रक्षापङ्क्तिको नेतृत्व गर्नेछन् भने स्यामुएल मुतुसामीले मध्यभागमा टोलीलाई सन्तुलन प्रदान गर्ने जिम्मेवारी पाएका छन्।
विश्व फुटबलमा प्रतिष्ठा जोगाउने दबाबमा रहेको पोर्चुगल र नयाँ इतिहास कोर्ने लक्ष्यसहित मैदान उत्रिएको कङ्गोबीचको यो भिडन्त समूह चरणकै सबैभन्दा चासोका साथ हेरिएको खेलमध्ये एक बन्ने अपेक्षा गरिएको छ।