डिभिजन वन कार्यालय बाराले निजगढ नगरपालिका–२ स्थित बन्देवी सामुदायिक वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन ११ परिवारलाई सात दिनभित्र क्षेत्र खाली गर्न निर्देशन दिएको छ।
कार्यालयले जारी गरेको सूचनाअनुसार बन्देवी सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने करिब २१ हेक्टर वन क्षेत्र अतिक्रमण गरी ११ परिवारले घर निर्माण गरेर बसोबास गर्दै आएका छन्। यसअघि बारा जिल्ला अदालतले उक्त क्षेत्र वन क्षेत्रकै रूपमा कायम रहने फैसला गरिसकेको भए पनि अतिक्रमण हटाइएको छैन।
डिभिजन वन कार्यालयले जेठ २९ गते सूचना जारी गर्दै अदालतको आदेश तथा वन ऐन, २०७६ विपरीत वन क्षेत्र ओगटेर बसोबास गरिरहेका व्यक्तिहरूलाई सात दिनभित्र घरटहरा हटाई वन क्षेत्र खाली गर्न निर्देशन दिएको हो।
सूचना प्राप्त गर्नेहरूमा नरबहादुर क्षेत्री, बुधकुमारी तिमल्सिना, चेतकुमारी थापा, मनकुमारी थापा, दिनेश केसी, सीताराम लम्साल, बोलखबहादुर फुलाल, राजु घिसिङ, डम्बरबहादुर राई, मोहन राई तथा श्यामबहादुर घिसिङ रहेका छन्।
कार्यालयले तोकिएको अवधिभित्र अतिक्रमित क्षेत्र खाली नगरे कानुनअनुसार जबर्जस्ती हटाइने चेतावनी दिएको छ। साथै, हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने र वन ऐन, २०७६ बमोजिम थप कारबाही तथा सजायसमेत हुन सक्ने जनाएको छ।
डिभिजनल वन अधिकृत सुजितकुमार झाले वन क्षेत्र संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। उहाँले सम्बन्धित सबैलाई तोकिएको समयभित्र वन क्षेत्र खाली गरी सहयोग गर्न आग्रह गर्नुभएको छ।
कार्यालयका अनुसार अतिक्रमित क्षेत्रको पूर्वमा निजगढ जाने ग्राभेल सडक, पश्चिममा सरस्वती सामुदायिक वन तथा राष्ट्रिय वनको सिमाना, उत्तरमा सिंगौल बस्ती र लोकप्रिय प्राथमिक विद्यालय क्षेत्र तथा दक्षिणमा सिद्धपोखरीस्थित राष्ट्रिय वन क्षेत्र रहेको छ।
वन क्षेत्रको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन अतिक्रमण नियन्त्रण अभियानलाई निरन्तरता दिइने डिभिजन वन कार्यालय बाराले जनाएको छ।