वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौ महिनामा २३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ ३१ गतेसम्म एक महिनाको अवधिमा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको हो। यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार भदौ महिनाको संकलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको छ।
मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेका छन्। भदौ महिनामा बिस्कुटबाट मात्रै करिब १ अर्ब ७८ करोड रुपैयाँ तथा विभिन्न प्रकारका दलहनबाट १ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
आर्थिक वर्षको सुरुवाती महिनाको आयात–निर्यात व्यापारलाई आधार मान्दा वीरगञ्ज भन्सार कार्यालयले राजस्व असुलीलाई लक्ष्यको नजिक पुर्याउँदै लगेको तथ्यांकले देखाएको छ।
भदौ ३१ गते एकै दिनमा भने कार्यालयले ४४ करोड ७२ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त दिनका लागि ५८ करोड २४ लाख रुपैयाँ दैनिक राजस्व संकलनको लक्ष्य तोकिएकोमा ७६.७९ प्रतिशत प्रगति हासिल भएको हो।
सो दिन वीरगञ्ज भन्सार नाकाबाट पैठारी भई जाँचपास भएका प्रमुख २० वस्तुबाट मात्रै ४१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।