साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ। सामान्य करेक्सनपछि अघिल्लो दिनदेखि सम्हालिएको बजारले शुक्रबार पनि वृद्धि यात्रालाई निरन्तरता दिएको हो।
शुक्रबार नेप्से परिसूचक २२.८५ अंकले बढेर २ हजार ६४७.२२ विन्दुमा पुगेर बन्द भएको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३२ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९० अंकले उकालो लागेका छन्।
परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार कारोबार रकम बढेर ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ पुगेको छ। कुल ३४५ कम्पनीको ६४ हजार ७२ पटकको कारोबारमा २ करोड १२ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक बढ्दा २ वटा उपसमूहको परिसूचक घटेको छ। बैंकिङ उपसमूहतर्फ लगानीकर्ताको आकर्षण देखिँदा उक्त उपसमूहको परिसूचक १.५९ प्रतिशतले बढेको छ।
त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक पनि करिब १.५ प्रतिशतले बढेको छ। वित्त र अन्य उपसमूहको परिसूचक भने सामान्य अंकले घटेर बन्द भएको छ।
शुक्रबार स्नो रिभर्स लिमिटेडको सेयर मूल्य १३.६६ प्रतिशतले बढेको छ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशत तथा मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य करिब ९ प्रतिशतले बढेको छ। यता हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य भने १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ। बैंकको ३२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढी र ग्लोबल आइएमई बैंकको २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।