मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले जापानिज प्रविधिमा आधारित सोलिस ब्राण्डको ट्रयाक्टर नेपालमा भित्र्याएको छ । मुक्तिनाथ विकास बैंकको एसोसिएट कम्पनीको रुपमा रहेको यो कम्पनीले सोलिस ट्रयाक्टर पहिलो पटक विश्वकर्मा पूजाको अवसर पारेर बिहीबार वीरगञ्जमा लन्च गरेको हो ।
यो ट्रयाक्टर कृषि र व्यावसायिक दुवै प्रयोजनमा उपयोग हुन सक्ने कम्पनीले जनाएको छ । विगत ८ वर्षदेखि कृषि इकोसिस्टमका काम गरिरहेको कम्पनीले खेतीलाई आधुननिकीकरण गरी कृषिलाई व्यावसायिक बनाउन ट्रयाक्टर भित्र्याएको कम्पनीका निर्देशक उमेशकुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार कम्पनीले कृषकलाई व्यक्तिगत र सहकारीमार्फत् उन्नत प्रविधि, बीउ, विषादी, मलखाद, उपकरण उपलब्ध गराउने र कृषकको उत्पादनलाई बजारीकरणसमेत गरेको छ ।
यहीक्रममा कृषिमा यान्त्रिकरण गर्दै उत्पादकत्व बढाउन सुपथ र मितव्ययी उपयोगको लागि सोलिस ट्रयाक्टर भित्र्याएको उनले जानकारी दिए । सोलिस ट्रयाक्टरले इन्धन कम खपत गर्ने दाबी कम्पनीका निमित्त प्रबन्धक सन्तोष आचार्यले गरे । सोलिस ट्रयाक्टरले एक घण्टामा ५ देखि साढे ५ लिटरमात्र इन्धन खपत गर्ने उनले बताए ।
भारतको इन्टरनेशनल ट्रयाक्टर लिमिटेडले बनाएको यो ट्रयाक्टर युरोपियन देशमा निकासीयोग्य गुणस्तरको भएको दाबी कम्पनीको छ ।
कम्पनीले १८, ४७, ५२ ६० र ७० हर्स पावरका विभिन्न ५ मोडेल र मूल्य रेन्जमा उपलब्ध रहेको बताएको छ । कृषि कम्पनीका ट्रयाक्टर ८ लाख रुपैयाँदेखि २४ लाख ५० हजार रुपैयाँसम्ममा उपलब्ध रहेको निमित्त प्रबन्धक आचार्यले बताए । आचार्यका अनुसार सोलिस ब्राण्डका ट्रयाक्टर इन्धन खपतका दृष्टिले कम खर्चिलो, न्यून मर्मतको आवश्यकता र टिकाउ छन् ।