सरकार निरंकुशतातर्फ अग्रसर भएको पर्साका सञ्चारकर्मीहरुले बताएका छन् । सरकारी सूचना तथा विज्ञापन वितरणमा देखिएको विभेदकारी र स्वेच्छाचारी निर्णयको विरोध गर्दै नेपाल पत्रकार महासंघको आह्वानमा पर्सामा जिल्ला प्रशासन कार्यालयअगाडि भएको धर्नालाई सम्बोधन गर्दै पत्रकारका अगुवाहरुले यस्तो बताएका हुन् ।
बिहान ११ बजेदेखि १२ बजेसम्म आयोजित धर्नापछि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी विज्ञापन दिने निर्णयविरुद्धको आन्दोलन जारी रहने बताए । सरकारले निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने चेतावनी अध्यक्ष बन्जाराले दिए । उनले स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेपविरुद्ध पत्रकार समुदाय एकजुट भएर उभिने बताए।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सरकार निरंकुश बन्न खोजेको आरोप लगाए । २०६० सालमा तत्कालीन राजाले प्रजातन्त्रमाथि 'कु' गर्दा सबैभन्दा पहिला मिडियालाई निशानामा पारेको स्मरण गर्दै अध्यक्ष खनालले भने, ‘अहिलेको सरकारले पनि सबैभन्दा पहिलो निशाना मिडियालाई नै बनाएको छ । यो सरकारको स्वेच्छाचारी र निरंकुशताको अभ्यासको प्रयास हो । तर, मिडियाले सरकारलाई निरंकुश बन्न कदापि दिँदैन ।’
प्रेस स्वतन्त्र भएमात्र लोकतन्त्र संस्थागत हुने भन्दै उनले लोकतन्त्रका लागि पूर्ण स्वतन्त्र प्रेस र प्रेस स्वतन्त्रताको लागि पूर्ण लोकतन्त्र अपरिहार्य भएको स्पष्ट पारे । कार्यक्रममा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादव, प्रेस चौतरी पर्सा अध्यक्ष निरन्जन मिश्र, समाजवादी प्रेस संगठनका मधेश अध्यक्ष मनोज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भुकुमार सुमनलगायत सञ्चारकर्मी, मिडिया सञ्चालकहरूको सहभागिता रहेको थियो।
धर्ना कार्यक्रममा सहभागीहरूले सरकारी सूचना तथा विज्ञापन वितरणमा देखिएको विभेद अन्त्य गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सञ्चारमाध्यमप्रति समान व्यवहार गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानद्वारा प्रत्याभूत मौलिक अधिकार भएकाले त्यसमाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका थिए।