विश्वका धनी राष्ट्रहरूको तेल भण्डार सन् २००३ यताकै सबैभन्दा न्यून स्तरमा झरेको अमेरिकी ऊर्जा सूचना प्रशासन (EIA) ले जनाएको छ। मध्यपूर्वको रणनीतिक समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ लामो समयसम्म प्रभावकारी रूपमा अवरुद्ध रहेपछि विश्व ऊर्जा आपूर्ति प्रणालीमा दबाब बढेको र त्यसको असर तेल भण्डारणमा देखिएको बताइएको छ।
EIA का अनुसार चालु त्रैमासिक अवधिमा विश्वव्यापी तेल भण्डार दैनिक ६३ लाख ब्यारेलले घट्ने अनुमान गरिएको छ। आगामी तेस्रो त्रैमासिकमा यो गिरावट अझ बढेर दैनिक ७६ लाख ६० हजार ब्यारेल पुग्न सक्ने प्रक्षेपण गरिएको छ।
तेल आपूर्तिमा आएको अवरोधका कारण विभिन्न देशहरूले व्यावसायिक तथा आपत्कालीन तेल भण्डार आक्रामक रूपमा प्रयोग गर्नुपरेको छ। यसले आर्थिक सहयोग तथा विकास संगठन (OECD) मा आबद्ध ३८ राष्ट्रहरूको तेल मौज्दातलाई दुई दशकयताकै न्यून बिन्दुमा पुर्याएको EIA ले जनाएको छ।
OECD मा अमेरिका, क्यानडा, जापान, इजरायल, दक्षिण कोरिया, फ्रान्स, बेलायतलगायत विश्वका प्रमुख विकसित राष्ट्रहरू सदस्य छन्। मध्यपूर्वबाट तेल आपूर्ति प्रभावित भएपछि यी राष्ट्रहरूले वैकल्पिक स्रोतको खोजी गरिरहेका छन्।
यसबीच अमेरिकी कच्चा तेल र पेट्रोलियम पदार्थको निर्यात उल्लेखनीय रूपमा बढेको छ। EIA का अनुसार अप्रिल महिनामा अमेरिकाको खुद तेल तथा पेट्रोलियम निर्यात दैनिक ५८ लाख ब्यारेलको कीर्तिमानी स्तरमा पुगेको थियो।
अधिकारीहरूले चालु वर्षभर अमेरिकाको खुद तेल निर्यात औसत दैनिक ४२ लाख ब्यारेल रहने अनुमान गरेका छन्, जुन गत वर्षको दैनिक १४ लाख ब्यारेलको तुलनामा उल्लेखनीय वृद्धि हो।
विश्लेषकहरूका अनुसार तेल भण्डारमा आएको तीव्र गिरावट र आपूर्ति मार्गमा देखिएको अवरोधले आगामी महिनाहरूमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य थप अस्थिर बन्न सक्ने संकेत गरेको छ। यसले विश्व अर्थतन्त्र, उद्योग तथा उपभोक्तामा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ।