इजरायलले इरानसँगको सैन्य द्वन्द्व अझ केही दिन वा त्यसभन्दा लामो समयसम्म जारी रहन सक्ने आकलन गर्दै त्यसअनुसार तयारी थालेको जनाएको छ। इजरायली सेनाका एक उच्च अधिकारीले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै वर्तमान परिस्थितिले दीर्घकालीन सैन्य अभियानको सम्भावना बढाएको बताएका हुन्।
अप्रिलमा भएको युद्धविरामपछि पुनः सुरु भएको तनावका लागि इजरायलले इरानलाई जिम्मेवार ठहर गरेको छ। इजरायली पक्षका अनुसार आइतबार राति इरानले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि युद्धविरामको उल्लंघन भएको हो।
इजरायली रक्षा बलका अनुसार इरानले हालसम्म करिब ३० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। यसका साथै इरान समर्थित यमनका हुथी विद्रोहीहरूले पनि दुई वटा क्षेप्यास्त्र प्रहार गरेका थिए। तीमध्ये एउटा इजरायली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो भने अर्को इजरायली भूभागसम्म पुग्न नसकी बीचमै खसेको बताइएको छ।
इरानी आक्रमणको जवाफस्वरूप इजरायलले दुई चरणमा सैन्य कारबाही सञ्चालन गरेको जनाएको छ। पहिलो चरणमा इरानका रणनीतिक हवाई प्रतिरक्षा प्रणालीहरूलाई निशाना बनाइएको थियो। दोस्रो चरणमा ब्यालेस्टिक क्षेप्यास्त्र तथा अन्य हतियार निर्माणमा सहयोग पुर्याउने भनिएको एक पेट्रोकेमिकल केन्द्रमाथि आक्रमण गरिएको इजरायली सेनाले दाबी गरेको छ।
इजरायली सैन्य अधिकारीका अनुसार हालसम्म भएका सबै आक्रमणहरू इजरायलले आफ्नै क्षमतामा सञ्चालन गरेको हो। यद्यपि अमेरिकाले हवाई प्रतिरक्षामा सहयोग गर्दै केही इरानी क्षेप्यास्त्रहरू अवरोध गरेको जनाइएको छ।
इजरायली सेनाले अमेरिकी केन्द्रीय कमाण्डसँग निरन्तर समन्वय गरिरहेको पनि जनाएको छ। पछिल्लो २४ घण्टामा इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिर र अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख एडमिरल ब्राड कुपरबीच दुई पटक उच्चस्तरीय संवाद भएको जानकारी दिइएको छ।
मध्यपूर्वमा पुनः चर्किएको यो तनावले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ। विश्लेषकहरूका अनुसार इरान र इजरायलबीचको पछिल्लो सैन्य टकराव लामो समयसम्म जारी रहन सक्ने संकेत देखिएकाले अन्तर्राष्ट्रिय समुदायको चासो समेत बढेको छ।