नेपाल सरकारद्वारा लागू गरिएको सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी नीतिको विरोध गर्दै पर्साका सञ्चारकर्मी तथा सरोकारवालाहरूले सङ्कलन गरेको हस्ताक्षरसहितको ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष पठाइएको छ।
नेपाल पत्रकार महासंघ पर्साको नेतृत्वमा सञ्चालन गरिएको हस्ताक्षर अभियानअन्तर्गत सङ्कलित हस्ताक्षर सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीलाई पठाइएको हो। महासंघ पर्साका सचिव विजय महतोको नेतृत्वमा गएको सञ्चारकर्मीहरूको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापालाई ज्ञापनपत्र बुझाएको थियो।
ज्ञापनपत्रमा सरकारले लागू गरेको सूचना तथा विज्ञापन नीतिले विशेषगरी मोफसलका सञ्चारमाध्यमलाई प्रत्यक्ष असर पार्ने उल्लेख गर्दै उक्त नीति पुनरावलोकन गरी संशोधन गर्न माग गरिएको छ। विज्ञापन वितरण र सरकारी सूचनाको पहुँचमा असमानता ल्याउने प्रावधानहरूले स्थानीय सञ्चारमाध्यमको अस्तित्वमाथि नै खतरा उत्पन्न गर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ।
सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रता, समान अवसर र सञ्चार क्षेत्रको दिगो विकास सुनिश्चित गर्न विभेदकारी व्यवस्था हटाउनुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूले सञ्चार क्षेत्रसँग पर्याप्त छलफल र परामर्शबिना नीति लागू गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व संस्थापक अध्यक्ष शंकर खतिवडा, महासंघका पदाधिकारी, सञ्चारकर्मी तथा विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले लोकतान्त्रिक समाजमा स्वतन्त्र, निष्पक्ष र सशक्त सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै मोफसलका सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धन हुने गरी नीति निर्माण गर्न सरकारसँग माग गरेका थिए।
महासंघका प्रतिनिधिहरूले पर्साबाट उठेको आवाजलाई सरकारले गम्भीरतापूर्वक लिने र सूचना तथा विज्ञापन नीतिमा आवश्यक सुधार तथा संशोधन गर्ने अपेक्षा व्यक्त गरेका छन्।