इजरायल र लेबनानबीच युद्धविराम कार्यान्वयन गर्ने विषयमा सहमति भएको छ। तर उक्त सहमति हिजबुल्लाहले पूर्ण रूपमा आक्रमण बन्द गर्नुका साथै दक्षिणी लेबनानबाट आफ्ना सबै लडाकु हटाउनुपर्ने सर्तमा आधारित रहेको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ।
अमेरिकाको मध्यस्थतामा बुधबार सम्पन्न वार्तापछि जारी संयुक्त वक्तव्यअनुसार दुवै पक्षले आगामी जुन २२ को सातामा पुनः राजनीतिक तथा सुरक्षा सम्बन्धी वार्ता गर्ने सहमति गरेका छन्। व्यापक र दीर्घकालीन सम्झौतामा पुग्ने उद्देश्यले उक्त वार्ता आयोजना गरिने जनाइएको छ।
इजरायलले हालै लेबनानविरुद्ध आफ्नो सैन्य कारबाही थप तीव्र बनाउने चेतावनी दिएको थियो। विश्लेषकहरूका अनुसार यस्तो कदमले अमेरिका–इरानबीच जारी कूटनीतिक वार्तामा समेत असर पार्न सक्ने जोखिम रहेको छ।
युद्धविराम लागू भएयता पनि इजरायल र हिजबुल्लाहबीच पटक–पटक आक्रमण तथा प्रतिआक्रमण भइरहेका छन्। यसले क्षेत्रीय स्थायित्वबारे चिन्ता बढाएको छ।
संयुक्त वक्तव्यमा लेबनानी सशस्त्र बल (Lebanese Armed Forces) ले पूर्ण नियन्त्रण गर्ने ‘पाइलट जोन’ स्थापना गर्ने विषयमा पनि सहमति भएको उल्लेख छ। ती क्षेत्रमा कुनै पनि गैरराज्य सशस्त्र समूहको उपस्थिति रहने छैन। यद्यपि यस्ता क्षेत्र कहिलेदेखि सञ्चालनमा आउने भन्ने स्पष्ट समयसीमा तय गरिएको छैन।
इजरायलले आफ्नो सुरक्षा तथा भौगोलिक अखण्डताको सुनिश्चितता हिजबुल्लाहको निशस्त्रीकरण र लेबनानभर रहेका उसका पूर्वाधार पूर्ण रूपमा हटाइएपछि मात्रै सम्भव हुने पुनः दोहोर्याएको छ।
अमेरिकाले भने लेबनानी सशस्त्र बललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। लेबनानको सम्पूर्ण भूभागमा सरकारको प्रभावकारी नियन्त्रण स्थापित गर्न सेनाको क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको वक्तव्यमा उल्लेख गरिएको छ।
बुधबारको वार्ता करिब नौ घण्टा चलेको थियो। यसअघि मंगलबार पनि अमेरिकी विदेश मन्त्रालयमा दिनभर छलफल भएको थियो। कूटनीतिक पहलका बाबजुद क्षेत्रीय तनाव अझै पूर्ण रूपमा समाधान भइनसकेको विश्लेषण गरिएको छ।