नेपाल पत्रकार महासंघ पर्सा शाखामा सदस्यता शुद्धीकरण तथा नियमित साधारणसभा तत्काल गर्न माग गर्दै सदस्यहरूले सामूहिक ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्षलाई सम्बोधन गर्दै बुझाइएको ज्ञापनपत्रमा शाखाभित्र देखिएको बेथिति, विसंगति र संस्थागत कमजोरीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । सदस्यहरूले पत्रकार महासंघ जस्तो मर्यादित पेशागत संस्थाको गरिमा कमजोर हुँदै गएको भन्दै तत्काल सुधारात्मक कदम चाल्नुपर्ने बताएका छन् ।

ज्ञापनपत्रमा महासंघको सदस्यता शुद्धीकरण प्रक्रिया विधान, विधि र मापदण्डअनुसार निष्पक्ष रूपमा हुनुपर्नेमा जोड दिइएको छ । साथै संस्थालाई व्यक्तिगत स्वार्थका आधारमा विवादित बनाउने प्रयासप्रति गम्भीर आपत्ति जनाइएको छ ।
सदस्यहरूले साधारणसभा समयमै सम्पन्न नगरेको, आर्थिक विवरण तथा निर्णय पुस्तिका हस्तान्तरण (बरबुझारथ) प्रक्रिया पूरा नगरेको विषयलाई पनि गम्भीर त्रुटि भन्दै तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
ज्ञापनपत्रमा उठाइएका प्रमुख मागहरू यसप्रकार छन्:
पहिलो, महासंघले केन्द्रमा बुझाएको सदस्यता शुल्कको रसिदअनुसारको हिसाबकिताब सार्वजनिक गरी पारदर्शिता कायम गर्नुपर्ने ।
दोस्रो, अघिल्लो कार्यसमितिले बुझाउनुपर्ने निर्णय पुस्तिका तथा आय–व्यय विवरणसहित सम्पूर्ण कागजात तत्काल हस्तान्तरण गरी साधारणसभा समयमा सम्पन्न गर्नुपर्ने ।
तेस्रो, विधान, मापदण्ड र नियमानुसार सदस्यता शुद्धीकरण निष्पक्ष रूपमा गर्नुपर्ने तथा फौजदारी मुद्दा र आचरणसम्बन्धी पक्षलाई समेत मूल्यांकन गर्नुपर्ने ।
चौथो, संस्थाको गरिमा घटाउने गरी सामाजिक सञ्जालमा गलत प्रचार तथा गतिविधि गर्ने व्यक्तिहरूको छानबिन गरी कारबाही गर्नुपर्ने ।

ज्ञापनपत्रको बोधार्थ नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति र नेपाल पत्रकार महासंघ केन्द्रीय समिति लाई पनि पठाइएको छ ।
ज्ञापनपत्रमा ५७ जना सदस्यहरूको हस्ताक्षरसहित सामूहिक रूपमा माग पेश गरिएको जनाइएको छ ।