नेपाल पत्रकार महासंघ पर्सा शाखाले निवर्तमान अध्यक्ष अनुप तिवारीलाई शाखाको निर्णयपुस्तिका (माइनुट), हरहिसाब तथा सम्पूर्ण आधिकारिक दस्तावेज ३ दिनभित्र बुझाउन पत्राचार गरेको छ । तोकिएको समयसीमाभित्र कागजात उपलब्ध नगराए नियमानुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनीसमेत शाखाले दिएको छ ।
महासंघ पर्सा शाखाका अनुसार वर्तमान कार्यसमितिले विगत नेतृत्वबाट कुनै पनि आधिकारिक कागजात, माइनुट तथा वित्तीय विवरण हस्तान्तरण नभएको जनाएको छ । शाखाका सचिव विजयकुमार महतोद्वारा जारी पत्रमा पटक–पटक अनुरोध गर्दा पनि पूर्व नेतृत्वले दस्तावेज उपलब्ध नगराएको उल्लेख छ ।
पत्रमा २०८१ पुस ३ गते बसेको पहिलो बैठकले तत्कालीन कोषाध्यक्ष सञ्जीव कुमार मिश्रलाई ३० दिनभित्र सम्पूर्ण हरहिसाब तथा चल–अचल सम्पत्तिको विवरण पेश गर्न जिम्मेवारी दिएको भए पनि ५१८ दिन बितिसक्दा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।
त्यस्तै, सदस्यता शुद्धीकरण प्रक्रियासम्बन्धी मागलाई लिएर पनि विवाद चुलिएको छ । निवर्तमान अध्यक्ष तिवारीकै संयोजकत्वमा बनेको सदस्यता शुद्धीकरण संघर्ष समितिले वर्तमान नेतृत्वलाई ज्ञापनपत्र बुझाउँदै प्रक्रिया अघि बढाउन तीन दिने अल्टिमेटम दिएको थियो ।
तिवारी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका थिए । पराजयपछि उनले सदस्यता शुद्धीकरणको मुद्दा उठाउँदै आएका छन् ।
महासंघले भने शुद्धीकरण प्रक्रिया अघि बढाउन विगतमा सदस्यता प्रदान गर्दा अपनाइएका निर्णय, माइनुट तथा प्रक्रियागत कागजात आवश्यक रहेको भन्दै ती सबै विवरण ३ दिनभित्र बुझाउन निर्देशन दिएको छ ।
पत्रमा भनिएको छ, “संस्थागत निर्णय र अन्य कागजात नहुँदा महासंघको कार्य सञ्चालनमा समस्या भएको छ । त्यसैले आवश्यक सबै दस्तावेज ३ दिनभित्र शाखा कार्यालयमा बुझाउन अनुरोध गरिन्छ । अन्यथा नियमानुसार प्रक्रिया अघि बढाइनेछ ।”
महासंघले उक्त पत्र केन्द्र र मधेस प्रदेश समितिलाई समेत बोधार्थ पठाएको जनाएको छ ।
