भारतीय क्रिकेट टोलीका स्टार ब्याटर विराट कोहलीले आफूलाई टोलीका लागि अझै उपयोगी रहेको साबित गर्न बाध्य पारिए २०२७ को एकदिवसीय विश्वकप नखेल्ने स्पष्ट संकेत दिएका छन्।
पूर्व कप्तान कोहलीले रोयल च्यालेन्जर्स बेङ्गलुरुको पोडकास्टमा बोल्दै आफू खेल्ने वा नखेल्ने निर्णय टोलीले आफूलाई कसरी हेर्छ भन्नेमा निर्भर रहने बताएका हुन्।
उनले भने, “यदि म जुन वातावरणको हिस्सा छु, त्यहाँ म मूल्य थप्न सक्छु भन्ने महसुस हुन्छ भने म देखिनेछु। तर यदि मलाई मेरो मूल्य प्रमाणित गर्न भनिन्छ भने म त्यस्तो अवस्थामा छैन।”
३७ वर्षीय कोहलीले भारतका टेस्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसके पनि एकदिवसीय टोलीमा भने सक्रिय छन्। सन् २०११ को विश्वकप विजेता टोलीका सदस्य रहेका कोहलीले पछिल्लो समय भारतलाई च्याम्पियन्स ट्रफी जिताउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए।
कोहलीले आफू मैदानमा सधैं पूर्ण समर्पणका साथ खेल्ने बताउँदै कुनै पनि गुनासो बिना टोलीका लागि मेहनत गर्ने स्पष्ट पारे।
उनले भने, “म मैदानमा जाँदा ५० ओभरको हरेक बललाई मेरो करियरको अन्तिम बलझैँ खेल्छु। म त्यसैअनुसार तयारी गर्छु र टोलीका लागि सबै दिन्छु।”
तर, उनले केही व्यक्तिहरूले आफूलाई अनावश्यक रूपमा जटिल परिस्थितिमा पार्न खोजेको संकेत पनि गरेका छन्, यद्यपि कसलाई लक्षित गरिएको हो भन्ने खुलाएनन्।
“यदि सुरुमा नै तपाईं राम्रो छैन भनिन्छ भने कुरा स्पष्ट हुन्छ। तर पहिले विश्वास गर्ने अनि पछि प्रश्न उठाउने हो भने त्यो किन ?” कोहलीले प्रश्न गरे।
कोहलीले हालसम्म ३११ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै १४,७९७ रन बनाएका छन्। उनी एकदिवसीय क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्, जहाँ सचिन तेन्दुलकर शीर्ष स्थानमा छन्।