लस एन्जलसमा शनिबार हुने बहुप्रतिक्षित फेदरवेट भिडन्तअघि अमेरिकी एमएमए स्टार राउन्डा राउजी र जीना कारानो अन्तिम पटक आमनेसामने भएका छन्। तौल नाप्ने क्रममा कारानोले नाच्दै आत्मविश्वास देखाउँदा राउजी भने आफ्नो परिचित गम्भीर मुद्रामा देखिएकी थिइन्।
३९ वर्षीया राउजी १० वर्षपछि पहिलो पटक रिङमा फर्किन लागेकी हुन् भने ४४ वर्षीया कारानो १७ वर्षपछि प्रतिस्पर्धात्मक फाइट खेल्न लागेकी छन्। लामो समय खेलबाट बाहिर रहे पनि कारानोले आफू पूर्ण रूपमा तयार रहेको संकेत दिएकी छन्।
तौल नाप्ने क्रममा कारानोको तौल १४१.४ पाउण्ड र राउजीको १४२ पाउण्ड रहेको थियो। कारानोले ‘द मन्डालोरियन’ सिरिजबाट २०२१ मा निकालिएपछि आफ्नो मानसिक र शारीरिक अवस्था कमजोर बनेको बताउँदै यस फाइटको तयारीका क्रममा १०० पाउण्ड तौल घटाएको खुलासा गरिन्।
“यदि म नाचिरहेकी छु भने म निकै राम्रो महसुस गरिरहेकी छु,” कारानोले भनिन्। “आफ्नो सपना जिउनुहोस्, आफूलाई कहिल्यै हार्न नदिनुहोस्। यो मेरो जीवनकै सबैभन्दा कठिन यात्रा थियो।”
यो भिडन्त जेक पाउल र नकिसा बिडारियनको ‘मोस्ट भ्यालुएबल प्रमोसन्स (MVP)’ अन्तर्गत हुँदैछ। साथै, यो पहिलो एमएमए इभेन्ट हुनेछ जुन नेटफ्लिक्समार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। राउजीका अनुसार यो खेलले महिला फाइटरहरूले पाउने पारिश्रमिकको नयाँ कीर्तिमान समेत बनाउनेछ।
फाइट सप्ताहभर दुवै खेलाडीबीच सम्मानजनक सम्बन्ध देखिएको छ। राउजी सामान्यतया हँसिलो देखिए पनि स्टेयरडाउनका बेला उनको गम्भीर अनुहारले पुरानो ‘यूएफसी’ च्याम्पियनको आक्रामक मानसिकता झल्काएको थियो।
“यो मेरो अन्तिम तौल नाप्ने क्षण हो,” राउजीले भनिन्। “मानिसहरूले जे सोचे पनि हामी सबैलाई गलत सावित गर्नेछौं।”
महिला एमएमएको सुरुवाती लोकप्रियतामा कारानोको ठूलो योगदान मानिन्छ। उनले २००९ मा क्रिस साइबोर्गसँग मुख्य भिडन्त खेलेर महिला एमएमएलाई विश्वमाझ चिनाएकी थिइन्। राउजीले पनि आफूलाई प्रेरणा दिने खेलाडीमध्ये कारानो प्रमुख रहेको बताउँदै आएकी छन्।
दुवै खेलाडीले यसपटक यूएफसीविरुद्ध फाइटरहरूको पारिश्रमिक बढाउनुपर्ने आवाज पनि उठाएका छन्। स्टेयरडाउनपछि उनीहरूले हात मिलाउँदै छोटो अँगालो समेत साटेका थिए।
राउजीले यसअघि पटक–पटक कन्कसनको समस्या भोगेका कारण अतिरिक्त स्वास्थ्य परीक्षणसमेत गरिने भएको छ। उमेर र लामो विश्रामका कारण यो भिडन्त प्रतिस्पर्धात्मक नहुने आलोचना भइरहे पनि राउजीले यसलाई “विश्वकै सबैभन्दा ठूलो फाइट” भन्दै एमएमएको स्वरूप बदल्ने दाबी गरेकी छन्।
यसै कार्डमा पूर्व यूएफसी हेभीवेट च्याम्पियन फ्रान्सिस एनगानु र फिलिपे लिन्सबीच भिडन्त हुनेछ भने चर्चित फाइटर नेट डियाजले माइक पेरीसँग प्रतिस्पर्धा गर्नेछन्।