नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त विशाल जनमतलाई अहंकारमा बदल्न नदिन चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले झण्डै दुई तिहाइ बहुमत पाएको रास्वपालाई विगतको नेकपाको अनुभवबाट सिक्न सुझाव दिए।
“हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ,” प्रचण्डले भने, “हिजो नेकपाका रूपमा हामी पनि यही साइजमा थियौँ, तर आफ्नै कमजोरीका कारण त्यो टिकेन। यो बहुमतलाई अहंकारको मलखाद बन्न नदिनुहोस्।”
उनले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै गरिब, सुकुम्बासी र निमुखा जनतामाथि अन्याय भइरहेको आरोप लगाए।
“जनतालाई उठिवास लगाएर र बिचल्ली पारेर लोकतन्त्रको ‘सर्भिसिङ’ हुँदैन,” उनले भने, “गरिब र सुकुम्बासी विकासका बाधक होइनन्।”
प्रचण्डले अहिलेको समावेशी संसद आफूहरूको संघर्ष, बलिदान र आन्दोलनको उपलब्धि भएको दाबी गर्दै त्यसको सम्मान गर्न आग्रह गरे। “यो प्रतिनिधित्वको कथा रगतले लेखिएको हो,” उनले भने, “क्रान्तिको उपलब्धिमाथि गर्व गरिरहेका बेला त्यसैको आधार वर्गलाई निशाना बनाउनु दुःखद हो।”
उनले विद्यार्थी संगठन, ट्रेड युनियन र अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको भन्दै सरकारको आलोचना गरे। “आवाज थुनेर लोकतन्त्र बलियो हुँदैन,” उनले टिप्पणी गरे।
संविधान संशोधनको विषयमा पनि उनले पारदर्शी र गम्भीर छलफल आवश्यक रहेको बताए। “संविधान संशोधन कसका लागि र किन भन्ने स्पष्ट हुनुपर्छ,” उनले भने।
प्रचण्डले सरकारले संसद् छल्दै अध्यादेशमार्फत शासन गर्न खोजेको आरोपसमेत लगाए। “जनताले दिएको विश्वासलाई विधि बलियो बनाउन प्रयोग गर्नुस्, स्वेच्छाचारिताका लागि होइन,” उनले चेतावनी दिए।
यो भिडियो हेर्नुहोस् :