प्रतिनिधिसभाको आज बस्ने बैठक राजनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ । संसद् सचिवालयका अनुसार मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने स्वयंले सम्बोधन गर्ने वा दलका उपनेताले बोल्ने भन्ने विषय अझै टुंगिएको छैन । यसबारे केही बेरमा बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने पार्टीका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा तथा नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डले विशेष समय माग गरेका छन् । निर्वाचित भएपछि संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो ।
हिजो बसेको विपक्षी दलहरूको बैठकले सरकारले संसद् छल्दै अध्यादेश ल्याएको, उचित व्यवस्थापन नगरी काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाएको लगायत विषयमा सरकारलाई कडा रूपमा खबरदारी गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कबहादुर राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।
बजेट अधिवेशनको पहिलो दिन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए ।