भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इरान–अमेरिका युद्धका कारण विश्व अर्थतन्त्रमा परेको प्रभाव र कच्चा तेलको मूल्य आकासिएपछि भारतीय नागरिकलाई खर्च कटौती गर्न विशेष आग्रह गरेका छन् ।
हैदराबादमा आयोजित भारतीय जनता पार्टी (भाजपा) को कार्यक्रममा सम्बोधन गर्दै मोदीले सुन खरिद नगर्न, अनावश्यक विदेश यात्रा स्थगित गर्न तथा ‘वर्क फ्रम होम’ पुनः अपनाउन आह्वान गरेका हुन् ।
उनले भारतले विदेशी मुद्रा सञ्चिति जोगाउन र इन्धनको खपत घटाउन आवश्यक रहेको बताएका छन् । पश्चिम एसियामा जारी द्वन्द्वका कारण विश्व आपूर्ति शृंखला दबाबमा परेको मोदीको भनाइ छ ।
होर्मुज जलडमरुका कारण बढ्यो संकट
इरान–अमेरिका युद्धका कारण विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने होर्मुज जलडमरुमा आंशिक अवरोध जारी छ । यसले अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति संकटको चिन्ता बढाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो शान्ति प्रस्ताव अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०५ डलरभन्दा माथि पुगेको छ ।
इरानले आफ्नो समृद्ध युरेनियमको केही भण्डार अन्य देशमा सार्न तयार रहेको प्रस्ताव गरे पनि आणविक संरचना नष्ट गर्न अस्वीकार गरेको थियो, जुन अमेरिका प्रमुख शर्तका रूपमा अघि सार्दै आएको छ ।
भारतले आफ्नो कुल कच्चा तेल आवश्यकताको ८८ प्रतिशतभन्दा बढी आयात गर्ने भएकाले तेल मूल्य वृद्धिले भारतीय अर्थतन्त्रमा ठूलो दबाब सिर्जना गरेको छ । पछिल्ला साताहरूमा भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर बन्दै गएको छ ।
‘वर्क फ्रम होम’ पुनः अपनाउन आग्रह
मोदीले कोरोना महामारीका बेला अपनाइएका ‘वर्क फ्रम होम’, भर्चुअल बैठक र भिडियो कन्फ्रेन्सजस्ता अभ्यास पुनः सुरु गर्नुपर्ने बताएका छन् ।
“कोरोनाकालमा हामीले घरबाट काम गर्ने, भर्चुअल बैठक गर्ने बानी बसालेका थियौँ । अहिले फेरि त्यही अभ्यास आवश्यक भएको छ,” मोदीले भने ।
उनले पेट्रोल र डिजेलको प्रयोग कम गर्न मेट्रो रेल, कारपुलिङ र विद्युतीय सवारीको प्रयोग बढाउन आग्रह गरेका छन् । साथै, मालवाहक ढुवानी सडकभन्दा रेलमार्फत गर्नुपर्नेमा जोड दिएका छन् ।
एक वर्ष सुन नकिन्न आग्रह
प्रधानमन्त्री मोदीले भारतीय नागरिकलाई कम्तीमा एक वर्षसम्म सुन खरिद नगर्न आग्रह गरेका छन् ।
“सुन खरिदमा ठूलो मात्रामा विदेशी मुद्रा खर्च हुन्छ । राष्ट्रिय हितका लागि एक वर्षसम्म सुन नकिन्ने संकल्प गरौँ,” उनले भने ।
भारत विश्वकै ठूलो सुन आयातकर्तामध्ये एक हो । विशेषगरी विवाह र चाडपर्वका समयमा सुनको माग उच्च हुने गर्छ ।
मोदीले अनावश्यक विदेश भ्रमण, विदेशमा हुने विवाह समारोह र विलासी बिदा यात्रा पनि एक वर्षका लागि रोक्न आग्रह गरेका छन् ।
“मध्यम वर्गमा विदेशमा विवाह गर्ने, घुम्न जाने प्रवृत्ति बढिरहेको छ । अहिलेको संकटमा कम्तीमा एक वर्ष विदेश यात्रा स्थगित गर्नुपर्छ,” उनले भने ।
युद्धले सुन बजारमा पनि असर
इरान–अमेरिका युद्धले विश्व सुन बजारमा समेत अस्थिरता बढाएको छ । सामान्यतया युद्ध र भूराजनीतिक तनावका बेला लगानीकर्ताले सुनलाई सुरक्षित लगानीका रूपमा हेर्ने गर्छन् ।
तर यसपटक तेल मूल्य वृद्धिका कारण विश्वव्यापी मुद्रास्फीति र उच्च ब्याजदरको चिन्ता बढेकाले सुन बजारमा मिश्रित प्रभाव परेको विश्लेषण गरिएको छ ।
तेलको मूल्य बढेसँगै अमेरिकी डलर बलियो बनेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ०.६ प्रतिशतले घटेको रोयटर्सले जनाएको छ ।
विश्लेषकहरूका अनुसार मध्यपूर्व तनावका कारण सुनको माग बढे पनि उच्च तेल मूल्य र ब्याजदरको दबाबले सुनको मूल्यमा उतारचढाव देखिएको छ ।
आत्मनिर्भरता र मितव्ययितामा जोड
मोदीले खाद्य तेलको प्रयोग घटाउन, रासायनिक मल कम गर्न तथा प्राकृतिक खेती र स्वदेशी उत्पादनको प्रयोग बढाउन पनि आग्रह गरेका छन् ।
“हामीले जसरी भए पनि विदेशी मुद्रा जोगाउनुपर्छ,” उनले भने, “यो संकटका बेला आत्मनिर्भर भारत निर्माणमा सबैले योगदान गर्नुपर्छ ।”
हालसम्म भारत सरकारले पेट्रोल र डिजेलको मूल्य स्थिर राखेको भए पनि सरकारी तेल कम्पनीहरूले ठूलो घाटा बेहोर्नुपरेको बताइएको छ ।
कांग्रेसको आलोचना
प्रधानमन्त्री मोदीको अभिव्यक्तिप्रति विपक्षी दल कांग्रेसले आलोचना गरेको छ ।
कांग्रेस नेता केसी वेणुगोपालले सरकारले ऊर्जा संकट समाधानमा प्रभावकारी तयारी गर्न नसकेको आरोप लगाए ।
“युद्ध सुरु भएको तीन महिना बितिसक्दा पनि सरकारले ऊर्जा सुरक्षाबारे स्पष्ट योजना ल्याउन सकेको छैन । सर्वसाधारणमाथि बोझ थोपर्नु गैरजिम्मेवार कदम हो,” उनले भने ।
यद्यपि, भारतीय गृहमन्त्री अमित शाहले मोदीको अपिललाई “ऊर्जा सुरक्षित र आत्मनिर्भर भारत निर्माणको दूरदर्शी मार्गचित्र” भन्दै समर्थन गरेका छन् ।