राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा यही वैशाख २९ गते सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सरकारले यस वर्षदेखि नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने निर्णय गरेसँगै बोर्डले तीव्र गतिमा काम अघि बढाएको हो ।
परीक्षा नियन्त्रक तुकाराज अधिकारीका अनुसार तोकिएकै समयमा नतिजा सार्वजनिक हुनेछ । ‘वैशाख २९ भित्र नतिजा सार्वजनिक हुन्छ, हामी त्यसमै केन्द्रित भएर काम गरिरहेका छौं,’ उनले बताएका छन् । बाँकी प्राविधिक काम सकिए निर्धारित समयभन्दा अगावै नतिजा आउन सक्ने संकेत पनि बोर्डले दिएको छ ।
यसपटक उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिएको कारण नतिजा छिटो निकाल्न सम्भव भएको बोर्डको भनाइ छ । अघिल्ला वर्षझैँ कापी संकलन गरेर अन्यत्र पठाउन नपरेकाले समय बचत भएको हो ।
बोर्डले परीक्षा सकिएको तीन दिनभित्रै सम्बन्धित केन्द्रलाई नतिजा, उत्तरपुस्तिका र आवश्यक कागजात पठाउन निर्देशन दिएको थियो । त्यसअनुसार वैशाख ९ भित्र देशभरका जिल्ला शिक्षा इकाइहरूले सबै विवरण बोर्डमा बुझाइसकेका थिए ।
सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार एक महिनाभित्र नतिजा ल्याउन बोर्डका कर्मचारी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म खटिएका छन् । समयमै काम सम्पन्न गर्न अतिरिक्त जनशक्ति पनि परिचालन गरिएको उनले बताए ।
यस वर्ष एसइई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका छन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन् । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन् । जापानस्थित एक परीक्षा केन्द्रबाट समेत २३ जनाले परीक्षा दिएका थिए ।