वीरगन्ज महानगर क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावका कारण विद्यालय सञ्चालन अवरुद्ध हुनु बालबालिकाको भविष्यमा गम्भीर असर पार्ने भएपछि, राष्ट्रीय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन) वीरगन्ज महानगर समितिले सार्वजनिक रूपमा सामाजिक शान्ति, शिक्षा सुरक्षा र बालबालिकाको हित सुनिश्चित गर्न अपील गरेको छ।
विद्यालयहरू अचानक बन्द हुनु, विद्यार्थीको पढाइ अवरुद्ध हुनु लगायतका घटनाले शैक्षिक स्तर र बालबालिकाको मानसिक अवस्थामा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने खतरा रहेको समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ । समितिले यस परिस्थितिलाई गम्भीर रूपमा लिएर सभी सरोकारवालालाई संयमता, समझदारी र सहकार्य अपनाउन आग्रह गरेको छ।
कुनै पनि राजनीतिक, सामाजिक वा धार्मिक आन्दोलनले विद्यार्थीको पढाइमा बाधा पुर्याउन नहुने समितिले स्पष्ट पारेको छ । बालबालिकाको भविष्य सुरक्षित राख्न स्थायी संवाद संयन्त्र गठन गर्न, शान्तिपूर्ण वातावरण सिर्जना गर्न र विद्यालय सञ्चालन निरन्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न अपील गरिएको छ।
अध्यक्ष जियालाल गुप्ता र सचिव सेख हजराद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि वीरगन्जमा शान्ति, सामाजिक सद्भाव र शैक्षिक स्थायित्व कायम गर्नु सम्पूर्ण समुदाय, राजनीतिक दल र सरोकारवालाको साझा जिम्मेवारी हो।
समितिले सबैलाई बालबालिकाको शिक्षा अवरुद्ध नहोस् भनी सकारात्मक र सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।
