पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गराउने प्रक्रिया अघि बढाइएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रेड नोटिसका लागि इन्टरपोलले थप कागजात माग गरेपछि एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो)ले आवश्यक विवरण पठाइसकेको छ । प्रहरी स्रोतका अनुसार केही दिनअघि इमेलमार्फत थप विवरण माग गरिएकाले सोहीअनुसार कागजात पठाइएको हो ।
गत २४ चैतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यससँगै उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको थियो ।
एनसीबीले औपचारिक रूपमा इन्टरपोललाई रेड नोटिसका लागि पत्राचार गरे पनि आवश्यक कागजात अपुग रहेको भन्दै हालसम्म नोटिस जारी भइसकेको छैन ।
पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमै रहेका थिए । उनीहरू १४ फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यसपछि ७ चैतमा हङकङ पुगेको बताइएको छ । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेका छन् ।
यसअघि जेनजी आन्दोलनपछि पनि उपचारकै बहानामा देउवा दम्पती सिंगापुर गएका थिए । तर, त्यतिबेला उपचारपछि उनीहरू स्वदेश फर्किएका थिए । यसपटक भने १४ फागुनदेखि विदेशमा रहेका उनीहरू अझै नेपाल फर्किएका छैनन् ।
यदि रेड नोटिस जारी भएमा इन्टरपोलका १९६ सदस्य राष्ट्रले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याउन सकिनेछ ।