वीरगंज महानगरपालिकाले लामो समयदेखि निष्क्रिय तथा सम्पर्कविहीन रहेका ८८ वटा सहकारी संस्थाको दर्ता खारेजी प्रक्रिया अघि बढाएको छ। महानगरको प्रशासन तथा व्यवस्थापन महाशाखाले सार्वजनिक सूचना जारी गर्दै ती सहकारीहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन वा आवश्यक स्पष्टीकरण तथा कागजात पेस गर्न निर्देशन दिएको छ।
महानगरका अनुसार यी सहकारीहरूले सहकारी ऐन तथा नियमावलीअनुसार बुझाउनुपर्ने मासिक प्रगति प्रतिवेदन, वार्षिक साधारण सभाको निर्णय प्रतिलिपि, वार्षिक लेखा परीक्षण प्रतिवेदन तथा कोपोमिस प्रणालीमा विवरण अद्यावधिक नगरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा ३ बमोजिम खारेजी प्रक्रिया सुरु गरिएको सूचनामा उल्लेख छ।
खारेजी सूचीमा आफ्नै बचत तथा ऋण सहकारी संस्था लि. (वडा नं. ८), आधार बचत तथा ऋण सहकारी संस्था लि. (वडा नं. ३१), आकाशवाणी बचत तथा ऋण सहकारी संस्था लि. (वडा नं. २१), अशोक विनायक कृषि सहकारी संस्था लि. (वडा नं. १५), आस्था बचत तथा ऋण सहकारी संस्था लि. (वडा नं. १०), बालाजी कृषि सहकारी संस्था लि. (वडा नं. ३२), हाम्रो बहुदेश्यीय सहकारी संस्था लि. (वडा नं. ३), जन विश्वास उपभोक्ता सहकारी संस्था लि. (वडा नं. ५), सगरमाथा बचत तथा ऋण सहकारी संस्था लि. (वडा नं. ८), बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. (वडा नं. ९) लगायत बचत तथा ऋण, कृषि, उपभोक्ता तथा बहुउद्देश्यीय प्रकृतिका ८८ सहकारी संस्थाहरू परेका छन्।
महानगरले सम्बन्धित सहकारीलाई ३५ दिनको सुनुवाइको अन्तिम अवसर दिएको छ। तोकिएको अवधिभित्र आवश्यक विवरण वा चित्तबुझ्दो स्पष्टीकरण पेस नगरेमा ती संस्थाहरूको दर्ता स्वतः खारेज हुने महाशाखा प्रमुख इ. सुनील कुमार कर्णले जानकारी दिएका छन्। महानगरको यस कदमले अपारदर्शी रूपमा सञ्चालन भएका तथा निष्क्रिय सहकारीहरूलाई नियन्त्रणमा ल्याउने र बचतकर्ताको रकम सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।