अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै समाप्त हुने दाबी गरेका छन्। उनले इरानको आणविक महत्वाकांक्षा रोक्ने आफ्नो लक्ष्यलाई धेरैले बुझिरहेको पनि बताएका छन्।
यो टिप्पणी यस्तो समयमा आएको हो, जब इरानले अमेरिकी प्रस्ताव अझै अध्ययनमै रहेको जनाएको छ। अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार ह्वाइट हाउस इरानसँग १४ बुँदे प्रारम्भिक सम्झौता (मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ) नजिक पुगेको विश्वासमा छ, जसले विस्तृत आणविक वार्ताका लागि आधार तयार गर्न सक्छ।
उक्त प्रस्तावमा इरानको यूरेनियम संवर्धन स्थगन, प्रतिबन्ध हटाउने र होर्मुज जलसन्धीमा स्वतन्त्र आवतजावत पुनःस्थापना जस्ता प्रावधान रहेको बताइएको छ। तर यी सबै बुँदा अन्तिम सम्झौतामा निर्भर रहने जनाइएको छ।
इरानको संसदका एक वरिष्ठ सदस्यले अमेरिकी प्रस्तावलाई “इच्छा सूची” भन्दै अस्वीकार गरेका छन्। त्यस्तै इरानी विदेश मन्त्रालयका प्रवक्ताले प्रस्तावबारे अध्ययनपछि पाकिस्तानमार्फत धारणा पठाइने बताएका छन्। पाकिस्तानका विदेशमन्त्रीले भने यो युद्धलाई स्थायी शान्तिमा बदल्ने प्रयास भइरहेको बताएका छन्।
ट्रम्पले रिपब्लिकन समर्थकहरूसँगको भर्चुअल कार्यक्रमका क्रममा युद्ध चाँडै सकिने आशा व्यक्त गर्दै इरानलाई आणविक हतियारबाट रोक्नु आफ्नो सही निर्णय भएको दोहोर्याएका छन्।
यसैबीच, उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानले सम्झौता नगरेमा “कडा र व्यापक बमबारी” हुने चेतावनी समेत दिएका छन्।
इरानले भने अमेरिका–इजरायल आक्रमणको प्रतिवाद गर्न तयार रहेको चेतावनी दिँदै कुनै दबाबमा नझुक्ने प्रतिक्रिया दिएको छ। इरानले आफ्नो आणविक कार्यक्रममाथि अमेरिकी शर्तहरू अस्वीकार्य भएको अडान दोहोर्याएको छ।
उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्पसँग पूर्ण समन्वय रहेको बताउँदै इरानको संवर्धन क्षमता अन्त्य गर्नु प्रमुख लक्ष्य रहेको उल्लेख गरेका छन्।
युद्ध, कूटनीतिक वार्ता र प्रतिबन्धबीचको यो तनावपूर्ण अवस्थाले मध्यपूर्वमा फेरि ठूलो भूराजनीतिक संकट निम्तिन सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन्।