आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले ओमानलाई ८१ रनको फराकिलो अन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। नेपालका आसिफ शेखको उत्कृष्ट ब्याटिङ र गुल्सन झाको घातक बलिङ जितका प्रमुख आधार बने।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो। नेपालका लागि आसिफ शेखले ९७ बलमा ७ चौका र ५ छक्कासहित ९४ रनको उत्कृष्ट पारी खेले र शतकबाट केवल ६ रनले चुके।
त्यस्तै, ओपनिङमा आएका अर्जुन कुमालले ८७ बलमा ४८ रनको संयमित इनिङ खेले भने आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै मात्र २४ बलमा ४३ रन जोडे। दीपेन्द्र सिंह ऐरीले ३३ रन र गुल्सन झाले १७ रनको योगदान दिए।
ओमानका बलरमध्ये नदीम खानले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए भने शकील अहमद र हस्नैन शाहले समान २–२ विकेट लिए।
२५७ रनको लक्ष्य पछ्याएको ओमान नेपालको धारिलो बलिङ अगाडि टिक्न सकेन र ३९.५ ओभरमा १७५ रनमै समेटियो। ओमानलाई सस्तैमा समेट्ने क्रममा गुल्सन झाले उत्कृष्ट प्रदर्शन गर्दै ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए।
ओमानका लागि विनायक शुक्लले सर्वाधिक ३६ रन बनाए भने हम्माद मिर्जाले ३४ रन र हस्नैन उल वाहबले २९ रन जोडे। नेपालका तर्फबाट गुल्सन झाबाहेक करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए।
यस जितसँगै नेपालले लिग–२ को अंकतालिकामा महत्वपूर्ण सफलता हासिल गरेको छ।