इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच हुने खेललाई दुवै टोलीका लागि ‘कर–वा–मर’ भिडन्तका रूपमा हेरिएको छ। इतिहासमा १० उपाधि साझा गरेका यी दुई दिग्गज टोली यसपटक भने प्लेअफ दौडमा टिक्नकै लागि संघर्षरत अवस्थामा छन्।
हालसम्म चेन्नई सुपर किङ्सले आठ खेलमध्ये तीन जित मात्र हात पारेको छ भने मुम्बई इन्डियन्सले दुई जित मात्रै निकाल्न सकेको छ। कमजोर सुरुवातका कारण दुवै टोलीको प्लेअफ यात्रा कठिन बनेको छ, जसले यो भिडन्तलाई अझै बढी महत्वपूर्ण बनाएको छ।
चेन्नई सुपर किङ्सले सुरुवाती तीन खेल लगातार गुमाए पनि त्यसपछि केही सुधार गर्दै दुई खेल जितेको थियो। तर सनराइजर्स हैदराबाद र गुजरात टाइटन्ससँगको हारले फेरि टोलीलाई दबाबमा पारेको छ। यद्यपि, मुम्बई इन्डियन्सविरुद्ध अघिल्लो खेलमा प्राप्त शानदार जितले उनीहरूलाई आत्मविश्वास दिएको छ। अब घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा दोस्रो जित निकाल्दै सिजनलाई पुनर्जीवित गर्ने लक्ष्यमा चेन्नई छ।
अर्कोतर्फ, मुम्बई इन्डियन्स चोट समस्याले बढी प्रभावित देखिएको छ। क्विन्टन डि कक, मिचेल सान्टनर र रोहित शर्माजस्ता मुख्य खेलाडीको उपलब्धता अनिश्चित छ। साथै सूर्यकुमार यादव र जसप्रित बुमराहको फर्म पनि अपेक्षाअनुसार देखिएको छैन भने कप्तान हार्दिक पाण्ड्याको असन्तुष्टि पनि मैदानमै देखिन थालेको छ।
यद्यपि मुम्बई इन्डियन्ससँग विगतमा अन्तिम चरणमा उत्कृष्ट पुनरागमन गर्दै प्लेअफ पुग्ने अनुभव छ। तर यसपटकको परिस्थिति अझ चुनौतीपूर्ण देखिएको विश्लेषकहरूको भनाइ छ।
यो खेल २ मे साँझ ७:३० बजे एमए चिदम्बरम स्टेडियम, चेन्नईमा हुनेछ। चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीचको यो भिडन्तले प्लेअफ समीकरणमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ। अबको हार दुवै टोलीका लागि लगभग बाहिरिने दबाब बराबर हुनेछ, जसले खेललाई अझ रोमाञ्चक बनाएको छ।