जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा अन्ततः एक लाख रुपैयाँ क्षतिपूर्ति दिएर मिलापत्र गरिएको छ।
महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएपछि शुक्रबार बिहान मृत्यु भएको थियो। मृतकका परिवारका अनुसार अस्पतालले शल्यक्रियावापत लिएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै थप एक लाख रुपैयाँ क्षतिपूर्तिस्वरूप दिएर घटना मिलाइएको हो।
आफन्तजनले भने प्रहरी प्रशासनले अस्पताललाई संरक्षण गरेको आरोप लगाउँदै बाध्य भएर मिलापत्र गर्नुपरेको बताएका छन्। बलवा नगरपालिका–१ का वडाध्यक्ष पप्पु ठाकुरले पनि घटना मिलापत्र भएको पुष्टि गरेका छन्।
शल्यक्रियापछि अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आक्रोशित आफन्तजनले अस्पतालमा तोडफोड समेत गरेका थिए। मृतकका ससुरा दयाराम पासवानका अनुसार ‘ल्याप्रोस्कोपिक’ (प्वाल पारेर) विधिबाट शल्यक्रिया गर्ने सहमतिमा अस्पतालमा भर्ना गरिए पनि चिकित्सकले पेट चिरेर शल्यक्रिया गर्दा ज्यान गएको दाबी गरेका छन्।
परिवारजनले घटनाको छानबिन गरी दोषी चिकित्सक र अस्पताललाई कारबाही गर्न तथा उचित क्षतिपूर्ति दिन माग गरेका थिए। घटनापछि दिनभर अस्पताल परिसर तनावग्रस्त बनेको थियो।
तर आर्थिक अवस्था कमजोर हुनु, कानुनी प्रक्रिया झन्झटिलो हुनु तथा प्रहरी प्रशासन अस्पतालकै पक्षमा देखिएको आरोपका कारण अन्ततः मिलापत्रमा पुग्नुपरेको एक आफन्तले बताए।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार मृतक परिवार र अस्पतालबीच सहमति भएपछि घटना टुंगिएको हो। “हामीले जाहेरी दिन आग्रह गरेका थियौं, तर परिवारले दिन चाहेन,” उनले भने, “तोडफोडपछि शान्तिसुरक्षा कायम गर्नु हाम्रो दायित्व भएकाले सोही अनुसार काम गरेका हौं।”
मृतकका ससुरा दयाराम पासवानका अनुसार गाउँकै स्वास्थ्यकर्मी राम पुकारको सल्लाहमा वैशाख ७ गते बिरामीलाई अस्पतालमा जाँचका लागि ल्याइएको थियो। त्यसपछि सर्जन डा. अमरेश कर्णको सल्लाहमा वैशाख १६ गते शल्यक्रिया गरिएको थियो।
परिवारका अनुसार १ लाख २५ हजार रुपैयाँमा ल्याप्रोस्कोपी विधिबाट पत्थरी निकाल्ने सहमति भएको थियो, तर चिकित्सकले पेट चिरेर शल्यक्रिया गरेको आरोप छ।
यता, शल्यक्रियामा संलग्न सर्जन डा. कर्णले भने बिरामीमा युटेरस र किड्नीमा समेत पत्थरी देखिएपछि परिवारकै सहमतिमा चिरुवा विधिबाट शल्यक्रिया गरिएको बताएका छन्। शल्यक्रियापछि बिरामी सामान्य अवस्थामा फर्किए पनि अचानक रक्तसञ्चार कम भएर मृत्यु भएको भन्दै उनले कुनै लापरबाही नभएको दाबी गरेका छन्।