इन्धनको मूल्यमा भएको भारी वृद्धिलाई कारण देखाउँदै सरकारले मधेश प्रदेशसहित तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ५ प्रतिशतले वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै नयाँ भाडादर तुरुन्त लागू हुने जनाएको छ।
विभागका अनुसार वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार डिजेलको मूल्यमा ५ प्रतिशत वा सोभन्दा बढी उतारचढाव हुँदा स्वतः भाडा समायोजन हुने व्यवस्था छ। पछिल्लो समय डिजेलको मूल्य प्रति लिटर रु. १८०.८३ बाट बढेर रु. २३५.८३ पुगेपछि करिब ३०.४१ प्रतिशतले मूल्यवृद्धि भएकाले भाडा समायोजन गरिएको हो।
यो निर्णयपछि तराई र मधेशका मुख्य व्यापारिक नाकाहरू वीरगञ्ज, भैरहवा र विराटनगर केन्द्रित ढुवानी प्रणालीमा प्रत्यक्ष असर पर्ने देखिएको छ। मालवाहक ट्रक तथा ढुवानी साधनको भाडा बढेसँगै दैनिक उपभोग्य वस्तु, खाद्यान्न र निर्माण सामग्रीको लागत समेत बढ्ने अनुमान गरिएको छ।
विशेषगरी मधेश प्रदेशमा पर्ने प्रभाव अझ गहिरो हुने देखिएको छ, किनकि यहाँकै नाकाबाट देशको ठूलो हिस्सा आयात–निर्यात हुने गर्छ। भाडा वृद्धिको असर अन्ततः उपभोक्ताको भान्सासम्म पुग्ने भन्दै बजारमा महँगी थपिने चिन्ता बढेको छ।
यसैगरी लामो दूरीका यात्रुवाहक बसहरूको भाडा पनि ५ प्रतिशतले वृद्धि गरिएको छ, जसले मधेशबाट राजधानी काठमाडौं तथा अन्य प्रदेशतर्फ यात्रा गर्ने यात्रुहरूलाई थप आर्थिक भार पार्नेछ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार २०८३ जेठ १६ गतेदेखि नयाँ भाडादर लागू भएको जनाएको छ। विद्युतीय सवारी साधनमा भने पुरानै भाडादर कायम रहने सूचनामा उल्लेख छ।
विभागले इन्धन मूल्यमा आएको असामान्य वृद्धिका कारण सेवा निरन्तरता कायम राख्न भाडा समायोजन अनिवार्य भएको दाबी गरेको छ। तर, मधेशका व्यवसायी र उपभोक्ताले भने यो निर्णयले पहिले नै महँगीको चपेटामा परेको बजारलाई थप दबाबमा पार्ने बताएका छन्।