आज अपराह्नदेखि मधेश प्रदेशसहित पर्सा जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने उच्च सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत सचेत गराएको छ।
महाशाखाका अनुसार बेलुका ४:०० बजेदेखि सुरु हुने हावाहुरी बिहीबार बिहान करिब ६:४५ बजेसम्म कायम रहने अनुमान गरिएको छ। यस अवधिमा मधेश प्रदेशका विभिन्न जिल्लासहित पर्सामा हावाहुरीसँगै मेघगर्जन, चट्याङ्ग, असिना तथा वर्षा हुने सम्भावना रहेको छ।
मधेश प्रदेशअन्तर्गत पर्सा उच्च जोखिममा पर्ने जिल्लामध्ये एक भएकाले यहाँ विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। तीव्र हावाहुरीका कारण कच्ची घर, टिनका छाना, होर्डिङ बोर्ड तथा रुखहरू ढल्ने जोखिम बढ्नेछ भने विद्युत् सेवा अवरुद्ध हुने र सवारी आवागमनमा अवरोध आउन सक्ने देखिएको छ।
मौसमविद्हरूका अनुसार पश्चिमबाट पूर्वतर्फ सर्दै गएको सक्रिय मौसमी प्रणालीका कारण यसको प्रभाव मधेश प्रदेशभर देखिनेछ।
मधेश प्रदेश तथा पर्साका बासिन्दालाई अनावश्यक रूपमा बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न, हावाहुरीका बेला रुख, बिजुलीका पोल तथा कमजोर संरचनाबाट टाढा रहन र मौसमसम्बन्धी अद्यावधिक जानकारी लिन आग्रह गरिएको छ। साथै, स्थानीय प्रशासनलाई सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सचेत गराइएको छ।