वीरगञ्ज क्षेत्रमा पछिल्लो समय अवैध रूपमा भित्र्याइएका विद्युतीय स्कुटरहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको पाइएको छ। नेपाल–भारत खुला सिमानाको दुरुपयोग गर्दै भारतबाट यस्ता स्कुटरहरू भित्र्याउने प्रवृत्ति तीव्र बन्दै गएको हो। भारतीय बजारमा 'नो लाइसेन्स, नो रजिस्ट्रेशन' भन्ने सर्तमा सजिलै उपलब्ध हुने यी स्कुटरहरू नेपाली उपभोक्ताले त्यहीँबाट खरिद गरी भन्सार प्रक्रिया बिना नै नेपाल ल्याउने गरेका छन्।
विशेषगरी मूल्य अन्तरका कारण यस्तो अवैध आयात बढेको देखिन्छ। नेपालमा पाइने स्कुटरको तुलनामा भारतीय बजारमा यस्ता विद्युतीय स्कुटर करिब आधा मूल्यमा उपलब्ध हुने भएकाले उपभोक्ता आकर्षित भएका हुन्। यसरी भित्र्याइएका स्कुटरहरूको संख्या करिब १,५०० पुगिसकेको अनुमान ट्राफिक प्रहरी निरीक्षक युवराज कटुवालले गरेका छन्।

स्थानीय व्यवसायीहरूले भने यस अवस्थाले स्वदेशी बजारमा नकारात्मक असर परेको गुनासो गरेका छन्। वैध रूपमा भन्सार तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरू अवैध रूपमा भित्रिने सस्तो स्कुटरका कारण प्रतिस्पर्धामा पछाडि परेको बताउँछन्।
यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस्तो अवैध गतिविधि नियन्त्रण गर्न सक्रिय अभियान सञ्चालन गरिरहेको छ। वीरगञ्जका विभिन्न स्थानहरूमा चेकजाँच कडा पारिएको छ र बिना दर्ता तथा कागजात सञ्चालनमा रहेका स्कुटरहरू नियन्त्रणमा लिने कार्य भइरहेको छ। ट्राफिक प्रहरीका अनुसार सडकमा यस्ता स्कुटरको संख्या अत्यधिक बढ्न थालेपछि विशेष निगरानी बढाइएको हो।

हालसम्म नियन्त्रणमा लिइएका स्कुटरहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको छ। हालै मात्र ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका २४ वटा विद्युतीय स्कुटर जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज भन्सारमा बुझाएको छ। ती स्कुटरहरूको अनुमानित कुल मूल्य करिब १९ लाख २० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
अवैध रूपमा भित्रिने विद्युतीय स्कुटरले राजस्व चुहावट मात्र नभई कानुनी, सुरक्षा तथा बजार सन्तुलनमा समेत असर पारिरहेको देखिएको छ। त्यसैले सम्बन्धित निकायहरूले यस समस्यालाई नियन्त्रण गर्न थप कडाइका साथ कदम चाल्ने आवश्यकता देखिएको छ।