लामो समयदेखि अन्योलमा रहेको “कहाँसम्म सडक?” भन्ने प्रश्नको अन्त्य गर्दै त्रिभुवन राजपथ विस्तारका लागि केन्द्रबिन्दु निर्धारण गर्ने कार्य आज मङ्गलबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ।
सोमबार वीरगञ्ज महानगरपालिकामा सरोकारवालाहरूबीच भएको संयुक्त बैठकले आधिकारिक मापदण्डअनुसार सडकको केन्द्रबिन्दु पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेसँगै आजबाट काम अघि बढाइएको हो।
महानगर प्रमुख राजेशमान सिंहको सभापतित्वमा सम्पन्न बैठकमा जिल्ला प्रशासन कार्यालय पर्सा, सडक डिभिजन कार्यालय हेटौँडा तथा नापी कार्यालय पर्साका प्रतिनिधिहरू सहभागी थिए।
यसअघि सडकछेउका केही संरचना हटाइए पनि वास्तविक केन्द्रबिन्दु स्पष्ट नहुँदा स्थानीयवासी अन्योलमा थिए। विशेषतः “कहाँसम्म संरचना हटाउने?” भन्ने विषयमा निरन्तर जिज्ञासा उठ्दै आएको थियो।
अब केन्द्रबिन्दु निर्धारण भएसँगै सडकको दायाँ–बायाँ समान दूरी कायम गरी २५/२५ मिटर चौडाइ सुनिश्चित गर्न सहज हुने विश्वास गरिएको छ। यसले विस्तार कार्यलाई थप पारदर्शी, व्यवस्थित र विवादरहित बनाउने अपेक्षा गरिएको छ।
नापजाँचका लागि आवश्यक प्राविधिक तथा भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाले उपलब्ध गराएको छ भने मापन तथा नक्सा सम्बन्धी कार्य नापी कार्यालय पर्साले गरिरहेको छ।
सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर भोला प्रसाद साहका अनुसार मङ्गलबार बिहानदेखि नै नापजाँच कार्य सुरु भइसकेको छ। यसका लागि सम्बन्धित निकायहरूको संयुक्त कार्यदल गठन गरिएको छ, जसले नापजाँचदेखि कार्यान्वयनसम्म सहकार्य गर्नेछ।
यसअघि आइतबार गण्डकदेखि भन्सारसम्मका घर–टहराहरूमा डोजर प्रयोग गरी संरचना हटाउने कार्यसमेत गरिएको थियो।