नेपालमा मात्रै होइन कुनै पनि राष्ट्रको विकासको मूल आधार भनेकै शिक्षा हो । नेपालजस्तो विकासोन्मुख देशमा ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसंख्या बढी भएकाले त्यहाँको शिक्षाको अवस्था समग्र विकाससँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । पछिल्ला वर्षहरूमा शिक्षामा केही सुधार भए पनि गाउँ र शहरबीचको शैक्षिक अन्तर अझै स्पष्ट रूपमा देखिन्छ । नेपालको हालको शैक्षिक तथ्यांक अनुसार, कक्षा १ देखि १२ सम्म करिब ७० लाख विद्यार्थी अध्ययनरत छन् । यसमध्ये कक्षा १–८ मा करिब ५३ लाख र कक्षा ९–१२ मा करिब १६ लाख विद्यार्थी रहेका छन् । पछिल्लो तथ्यांकलाई हेर्ने हो भने जति कक्षा बढ्दै जान्छ विद्यार्थी संख्या घट्दै जानु एउटा ठूलो समस्या हो ।
कक्षा ११–१२ मा झर्दा यो संख्या करिब ६.७ लाख मात्र रहन्छ । यसले विद्यालय छाड्ने दर उच्च रहेको देखाउँछ, जुन ग्रामीण क्षेत्रमा अझ बढी गम्भीर छ।गाउँ र शहरबीचको साक्षरतामा पनि स्पष्ट भिन्नता छ । नेपालको औसत साक्षरता दर करिब ७६% भए पनि शहरमा यो करिब ८५ प्रतिशतभन्दा माथि छ भने ग्रामीण क्षेत्रमा करिब ७० प्रतिशतजति मात्र रहेको पाइन्छ । विशेषगरी ग्रामीण महिलाहरू अझै शिक्षाबाट पछि परेका छन्, जसले लैङ्गिक असमानता झल्काउँछ ।
शहरका विद्यालयहरूमा आधुनिक सुविधा, दक्ष शिक्षक, पुस्तकालय, कम्प्युटर र इन्टरनेट जस्ता स्रोतहरू सहज रूपमा उपलब्ध हुन्छन् । तर, ग्रामीण क्षेत्रमा यस्ता सुविधाहरूको अभाव छ । कतिपय विद्यालयहरूमा पर्याप्त कक्षा कोठा, शौचालय, खानेपानी र शैक्षिक सामग्रीसमेत उपलब्ध हुँदैन । यसले विद्यार्थीहरूको सिकाइ वातावरण कमजोर बनाउँछ । शिक्षकको उपलब्धता र गुणस्तरमा पनि ठूलो अन्तर देखिन्छ। शहरमा अनुभवी र प्रशिक्षित शिक्षकहरू पाइन्छन् भने ग्रामीण क्षेत्रमा शिक्षक अभाव, अस्थायी नियुक्ति र दुर्गम स्थानमा जान नचाहने प्रवृत्तिका कारण शिक्षाको गुणस्तर प्रभावित हुन्छ ।
आर्थिक अवस्था पनि एउटा महत्वपूर्ण कारण हो । ग्रामीण क्षेत्रमा धेरै परिवार गरिबीको रेखामुनि रहेका कारण बालबालिकाहरूलाई काममा लगाउनुपर्ने बाध्यता हुन्छ । यसले गर्दा कक्षा १ देखि ८ सम्म पुग्दा करिब २०–२५% विद्यार्थीहरूले पढाइ छाड्ने गरेको पाइन्छ । शहरमा यस्तो समस्या तुलनात्मक रूपमा कम हुन्छ । १२ कक्षापछि उच्च शिक्षामा जाने विद्यार्थी संख्या अझै घटेर करिब ६ लाख मात्र रहन्छ । यसको अर्थ धेरै विद्यार्थी विद्यालय तहपछि पढाइ छोड्न बाध्य हुन्छन्, जसमा ग्रामीण क्षेत्रका विद्यार्थीहरू बढी प्रभावित हुन्छन् ।
यस अवस्थाको सुधारका लागि केही महत्वपूर्ण उपायहरू आवश्यक छन् । पहिलो, ग्रामीण विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्नुपर्छ–जस्तै सुरक्षित भवन, शौचालय, खानेपानी, र पुस्तकालयको व्यवस्था । दोस्रो, दक्ष र प्रशिक्षित शिक्षकलाई ग्रामीण क्षेत्रमा काम गर्न प्रोत्साहन दिनुपर्ने हुन्छ । तेस्रो, डिजिटल शिक्षाको पहुँच विस्तार गरी कम्प्युटर र इन्टरनेट उपलब्ध गराउनु पर्छ । चौथो, गरीब तथा पिछडिएका वर्गका बालबालिकालाई छात्रवृत्ति र आर्थिक सहयोग बढाउनु पर्छ । अभिभावक र समुदायमा शिक्षाको महत्वबारे सचेतना फैलाउनु पनि अत्यन्त आवश्यक छ ।
गाउँ र शहरबीचको शैक्षिक अन्तर घटाउनु आजको प्रमुख आवश्यकता हो । ग्रामीण क्षेत्रमा शिक्षाको अवस्था सुधार गर्न केवल सामान्य प्रयासले पुग्दैन, लक्षित र व्यवहारिक उपायहरू आवश्यक हुन्छन् । जस्तो पूर्वाधार सुधार सबैभन्दा आधारभूत आवश्यकता हो । धेरै गाउँका विद्यालयमा अझै सुरक्षित भवन, पर्याप्त कक्षा कोठा, शौचालय र सफा खानेपानीको अभाव छ । यस्ता आधारभूत सुविधा भएमा विद्यार्थीको उपस्थितिमा नै सुधार आउँछ । अर्को कारण दक्ष शिक्षकको व्यवस्था र प्रोत्साहनको अभाव छ। ग्रामीण क्षेत्रमा काम गर्ने शिक्षकलाई अतिरिक्त सुविधा दिइयो भने उनीहरू त्यहाँ बस्न र राम्रोसँग पढाउन प्रेरित हुन्छन्। साथै, नियमित तालिमले शिक्षण गुणस्तर बढाउँछ ।
समय र परिस्थिति अनुरुप डिजिटल शिक्षाको विस्तार आवश्यक छ । आजको समयमा कम्प्युटर, इन्टरनेट, र स्मार्ट कक्षा अत्यन्त महत्वपूर्ण भइसकेका छन्। यदि ग्रामीण विद्यालयमा पनि यस्ता प्रविधि पु¥याइयो भने गाउँ र शहरबीचको शैक्षिक अन्तर घटाउन मद्दत पुग्छ । तसर्थ ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सके मात्र देशले समावेशी र दिगो विकास हासिल गर्न सक्छ । शिक्षा सबैका लागि समान अवसरको माध्यम हो, त्यसैले यसको समान वितरण अत्यावश्यक छ ।