पर्सा जिल्लामा अतिक्रमणविरुद्ध जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सञ्चालन गरिएको अभियानअन्तर्गत आइतबार पहिलो दिनमै सयौँ संरचना भत्काएर हटाइएको छ। अभियानले गण्डक नहर क्षेत्रदेखि गुठी संस्थानको जग्गासम्म व्यापक रूपमा अतिक्रमण हटाएको जनाएको छ।
प्रशासनले बिहानैदेखि डोजर परिचालन गर्दै गण्डक नहर क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने कार्य सुरु गरेको थियो। नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका सूचना अधिकृत इञ्जिनियर सुरेश साहका अनुसार पहिलो दिनमै ३२५ वटा भौतिक संरचना हटाइएको छ। अभियानमा नारायणी सिँचाइ व्यवस्थापन कार्यालय र यान्त्रिक सिँचाइ व्यवस्थापन कार्यालयका एक–एक तथा स्थानीय तहका दुई गरी चार वटा डोजर परिचालन गरिएको थियो।
जगरनाथपुर गाउँपालिकास्थित नेपाल प्रवेश विन्दुदेखि सखुवा प्रसौनीको महुवनसम्म तथा वीरगञ्जको गण्डक चोकदेखि महुवन चोकसम्म फैलिएका अतिक्रमित संरचनाहरू हटाइएको जनाइएको छ। इञ्जिनियर साहले पछिल्ला वर्षहरूमा नहर क्षेत्रको अतिक्रमण तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि यस्तो अभियान आवश्यक भएको बताए।
प्रशासनले तीन दिनअघि नै सार्वजनिक सूचना जारी गरी अतिक्रमण हटाउन निर्देशन दिएको थियो। सोही सूचनाअनुसार केही संरचना स्थानीयवासीले आफैं हटाएका थिए।
यसैबीच, सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित पारसनाथ महादेव मठ क्षेत्रअन्तर्गत गुठी संस्थानको करिब ५ बिघा ६ कठ्ठा जग्गामा रहेका घर, टहरा लगायतका संरचना पनि डोजर लगाएर भत्काइएको छ। गाउँपालिका अध्यक्ष जसवन्त यादवका अनुसार मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोको निर्देशनमा सात वटा डोजर परिचालन गरी अभियानलाई तीव्र बनाइएको थियो। सो क्रममा करिब ३८० घरटहरा हटाइएको उनले जानकारी दिए।
यसअघि गाउँपालिका र गुठी संस्थान वीरगञ्जले छुट्टाछुट्टै सूचना जारी गर्दै अतिक्रमण हटाउन आग्रह गरे पनि कार्यान्वयन हुन सकेको थिएन। तर यसपटक प्रदेश सरकारको निर्देशन तथा सुरक्षाकर्मीको सक्रियतामा अभियान प्रभावकारी रूपमा अघि बढाइएको अध्यक्ष यादवको भनाइ छ।
अध्यक्ष यादवका अनुसार महुवन क्षेत्रमा गुठीको थप २९ बिघा अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया पनि जारी रहेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार अभियान सोमबारदेखि बारा जिल्लातर्फ विस्तार गरिनेछ। पहिलो दिनको अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै अवरोध नआएको प्रशासनले जनाएको छ।