जिल्लाका केही सञ्चारमाध्यमले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै नेपाल पत्रकार महासंघ, पर्सा शाखाले कडा आपत्ति जनाउँदै तत्काल सुधार नगरे कारबाहीसम्म पुग्ने चेतावनी दिएको छ।
महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सञ्जाल (फेसबुक, युट्युब) लगायत विभिन्न माध्यममार्फत सामाजिक सद्भाव, जबरजस्ती करणी र व्यक्तिगत गोपनीयता जस्ता संवेदनशील विषयमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण भइरहेको ठहर गरेको छ।
विज्ञप्तिमा समाचार संकलनका क्रममा पत्रकारहरूले न्यूनतम शिष्टता समेत कायम नगरी अभद्र व्यवहार देखाएको उल्लेख गर्दै यसअघि पनि सम्बन्धित पक्षलाई पटक–पटक मौखिक रूपमा सचेत गराउँदा अटेर गरिएको जनाइएको छ।
महासंघका सचिव विजयकुमार महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “पत्रकार आचारसंहिताविपरीतका गतिविधि तत्काल बन्द गर्न आग्रह गर्दछौँ। पुनः यस्ता घटना दोहोरिएमा कानुनी कारबाहीका लागि महासंघ अघि बढ्नेछ।”
साथै, आचारसंहिताविपरीत समाचार सम्प्रेषणबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सञ्चारकर्मी वा संस्थाले नै वहन गर्नुपर्ने स्पष्ट पारिएको छ।
महासंघले यस्ता गतिविधिले निष्पक्ष र जिम्मेवार पत्रकारितामाथि नै प्रश्न उठाइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ र सम्पूर्ण सञ्चारकर्मीलाई मर्यादित तथा जिम्मेवार पत्रकारिता गर्न अपिल गरेको छ।
