समयको चक्र फेरि एकपटक नयाँ शुरूवाततर्फ उन्मुख भएको छ । प्रत्येक नयाँ वर्षले आशा, उत्साह र परिवर्तनको सन्देश बोकेर आउँछ । तर, आशासँगै हामीले विगतका अनुभव, चुनौती र सिकाइलाई आत्मसात् गर्दै भविष्यको दिशातर्फ जिम्मेवार पाइला चाल्नु अनिवार्य हुन्छ । मधेशको आर्थिक नाडी मानिने वीरगञ्जबाट प्रकाशित यस साप्ताहिकका तर्फबाट हामी नयाँ वर्ष २०८३ को सन्दर्भमा मुलुकको अर्थराजनीतिक अवस्थालाई समालोचनात्मक रूपमा मूल्यांकन गर्दै सम्भावनाका ढोकाहरू खोल्ने प्रयास गर्नेछौं ।
नेपालको वर्तमान अर्थतन्त्र संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । कोभिड–१९ महामारीपछि सुस्ताएको आर्थिक गतिविधि अझै पूर्ण रूपमा पुनरुत्थान हुन सकेको छैन । औद्योगिक उत्पादनमा गिरावट, निर्यातको कमजोर अवस्था, आयातमा निर्भरता, विदेशी मुद्रा सञ्चितिमा उतार–चढाव र बेरोजगारीजस्ता समस्याहरूले आर्थिक स्थायित्वमा चुनौती थपेका छन् । मधेशमा सीमापार व्यापार र साना–मझौला उद्योगहरू मुख्य आर्थिक आधार हुन् । यहाँको आर्थिक गतिशीलता अझै अपेक्षाअनुसार सुदृढ हुन सकेको छैन ।
वीरगञ्ज, जुन नेपालको प्रमुख भन्सार नाका र औद्योगिक केन्द्रका रूपमा परिचित छ, यहाँको आर्थिक गतिविधिमा आएको मन्दीले समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रभाव पारेको छ । उद्योगी र व्यवसायीहरूले भोगिरहेका वित्तीय संकट, बैंकिङ क्षेत्रको कडाइ, र नीतिगत अनिश्चितताले लगानीको वातावरणलाई चुनौतीपूर्ण बनाएको छ । यस्तो अवस्थामा सरकार र निजीक्षेत्रबीच समन्वयको अभाव गम्भीर समस्या बनेको देखिन्छ ।
राजनीतिक अस्थिरता र नीतिगत अस्पष्टताले आर्थिक विकासमा प्रतिकूल प्रभाव पारेको छ । अहिले नयाँ राजनीतिक शक्तिले बलियो बहुमतसहित सरकार बनाएकाले स्थायित्वको आशा गर्न सकिन्छ । तर, ढुक्क हुने अवस्था छैन । विगतमा बारम्बार सरकार परिवर्तन, दीर्घकालीन नीति निर्माणमा ढिलाइ र कार्यान्वयनमा कमजोरीले विकासका योजनाहरू अलपत्र पर्ने गरेका छन् । संघीय संरचनामा अधिकारको बाँडफाँट स्पष्ट नहुँदा प्रदेश र स्थानीय तहहरू पनि प्रभावकारी रूपमा आफ्नो भूमिका निर्वाह गर्न संघर्षरत छन् । मधेश प्रदेशमा विकासका मुद्दाहरू अझै राजनीतिक बहसको केन्द्रमा सीमित छन्, तर जनताको अपेक्षा पूरा हुन सकेको छैन ।
चुनौतीहरूको बीचमा सम्भावनाहरू पनि उत्तिकै प्रबल छन् । नेपालसँग प्राकृतिक स्रोतसाधन, युवा जनशक्ति र रणनीतिक भौगोलिक अवस्थितिजस्ता महत्वपूर्ण पूँजीहरू छन् । मधेश प्रदेशको कृषि उत्पादन क्षमता, सीमापार व्यापारको सहजता र औद्योगिक विकासको सम्भावनाले यहाँको आर्थिक पुनरुत्थानको आधार तयार गर्न सक्छ । यदि उचित नीति, पारदर्शी शासन र लगानीमैत्री वातावरण सिर्जना गर्न सकियो भने वीरगञ्ज पुनः आर्थिक गतिविधिको केन्द्रबिन्दु बन्न सक्छ ।
नयाँ वर्ष २०८३ मा हामीले विशेष ध्यान दिनुपर्ने क्षेत्रहरूमध्ये कृषि आधुनिकीकरण, औद्योगिक प्रवद्र्धन र पूर्वाधार विकास प्रमुख छन् । कृषिमा प्रविधिको प्रयोग, बजार पहुँचको विस्तार र मूल्य श्रृंखलाको सुदृढीकरणले किसानको आम्दानी बढाउन सक्छ । औद्योगिक क्षेत्रमा ऊर्जा आपूर्ति, कर नीति सुधार र श्रम व्यवस्थापनमा सुधार आवश्यक छ । सडक, रेल र सुक्खा बन्दरगाहजस्ता पूर्वाधारहरूको विस्तारले व्यापारलाई थप सहज बनाउन सक्छ ।
शिक्षा र सीप विकास पनि आर्थिक समृद्धिको आधार हुन् । युवा जनशक्तिलाई बजारअनुकूल सीप प्रदान गर्न सकेमा वैदेशिक रोजगारीमा निर्भरता घटाउन सकिन्छ । उद्यमशीलता प्रवद्र्धन गर्दै साना तथा मझौला व्यवसायहरूलाई प्रोत्साहन गर्न आवश्यक छ । डिजिटल अर्थतन्त्रतर्फको रूपान्तरणले पनि नयाँ अवसरहरू सिर्जना गर्न सक्छ ।
सुशासन र पारदर्शिता बिना कुनै पनि आर्थिक योजना सफल हुन सक्दैन । भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार र जनउत्तरदायी शासन प्रणालीले मात्र जनताको विश्वास जित्न सक्छ । राजनीतिक नेतृत्वले अल्पकालीन स्वार्थभन्दा माथि उठेर दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने समय आएको छ ।
सरकारले निजी तथा सामुदायिक क्षेत्रबाट सञ्चालित मिडियालाई मार पर्ने गरी सरकारी विज्ञापनमा लगाएको रोकले स्वतन्त्र मिडियाप्रतिको अनुदार सरकारी छवि प्रदर्शित भएको छ । यसले सरकारी स्वामित्वबाहेकका मिडिया, तिनमा कार्यरत हजारौं श्रमजीवि पत्रकार र स्वरोजगारमूलक सञ्चारमाध्यमको भविष्य अन्यौलमा धकेलेको छ । यो वर्षमा यो अन्योलको समुचित निक्र्यौैल खोजिनु पर्दछ ।
यस नयाँ वर्षमा हामी सबैले आत्ममूल्यांकन गर्दै आफ्नोआफ्नो क्षेत्रबाट सकारात्मक योगदान दिन प्रतिबद्ध हुनु पर्छ । सरकार, निजीक्षेत्र, नागरिक समाज र आम जनताको साझा प्रयासले मात्र मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सकिन्छ । मधेशको समृद्धिबिना नेपालको समृद्धि सम्भव छैन भन्ने यथार्थलाई आत्मसात् गर्दै समावेशी विकासको मार्ग अवलम्बन गर्न आवश्यक छ ।
नयाँ वर्ष २०८३ ले हामी सबैमा नयाँ ऊर्जा, सकारात्मक सोच र दृढ संकल्पको विकास गरोस् । चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको दिशामा अगाडि बढ्न हामी सबै सक्षम बनौं । यही कामना सहित, सम्पूर्ण पाठकवृन्द, विज्ञजन र शुभेच्छुकहरूलाई नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ।