अमेरिका र इरानबीच हिजो भएको उच्चस्तरीय वार्ताका क्रममा ‘हेक्टिक कूटनीति’ देखिएको एक पाकिस्तानी स्रोतले जनाएको छ। उक्त वार्तामा पाकिस्तानले महत्वपूर्ण मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको बताइएको छ।
यहाँ ‘हेक्टिक कूटनीति’ भन्नाले छोटो समयमै अत्यधिक दबाब, तीव्र गतिमा र निरन्तर रूपमा गरिने कूटनीतिक पहल तथा संवादलाई जनाउँछ। अर्थात्, लगातार बैठक, छलफल र समन्वयमार्फत समाधान खोज्ने तीव्र प्रयास।
स्रोतका अनुसार, दुवै पक्षबाट सकारात्मक संकेत देखिएका थिए। वार्तामा सहभागी दुवै टोलीले कूटनीति नै अगाडि बढ्ने एकमात्र उपाय भएको स्वीकार गरेका थिए र फेब्रुअरी २८—युद्ध सुरु भएको दिनको अवस्थातर्फ फर्कन नचाहेको जनाइएको छ।
पाकिस्तानका सेना प्रमुख फील्ड मार्शल आसिम मुनीर वार्ताको मध्यस्थतामा अत्यन्त सक्रिय रहेको स्रोतले उल्लेख गरेको छ। इरानी प्रतिनिधिमण्डल शुक्रबार इस्लामाबाद पुगेपछि सुरु भएको यो प्रक्रिया शनिबारसम्म जारी रहँदा २९ घण्टाभन्दा बढी समयसम्म अनौपचारिक छलफल चलेको थियो। औपचारिक रूपमा भने वार्ता करिब २१ घण्टा चले पनि युद्ध अन्त्यबारे कुनै सहमति हुन सकेन।
स्रोतका अनुसार, दुवै पक्षले आफ्नो आन्तरिक दर्शक (घरेलु जनमत) लाई पनि ध्यानमा राखेर कूटनीतिक प्रस्तुति गरिरहेका थिए। साथै, वार्ता असफल बनाउन चाहने क्षेत्रीय तथा बाह्य ‘विरोधी तत्व’हरूप्रति सचेत रहनुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
समग्रमा, पाकिस्तानले वार्ताका क्रममा कुनै पनि सूचना बाहिर नजाओस् भनेर कडा गोपनीयता कायम गर्दै दुवै पक्षका लागि सन्तुलित र सुरक्षित वातावरण सुनिश्चित गरेको स्रोतले जनाएको छ।