इरानले वर्तमान द्वन्द्व कम्तीमा ६ महिनासम्म लम्बिन सक्ने संकेत गर्दै आफूहरू आवश्यक परेसम्म युद्ध जारी राख्न तयार रहेको जनाएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले मंगलबार अल जजिरासँगको अन्तर्वार्तामा यस्तो बताएका हुन्।
उनले भने, “हामीले आफ्नो रक्षा गर्न कुनै समयसीमा तोकेका छैनौं। आवश्यक परेसम्म र जुनसुकै माध्यमबाट पनि हामी आफ्नो देश र जनताको रक्षा गर्नेछौं।”
अराघचीले विरोधी पक्षले तोकेको समयसीमाले इरानलाई फरक नपार्ने स्पष्ट पार्दै युद्धको स्थायी अन्त्य नै समाधान भएको उल्लेख गरे। “हाम्रो सुझाव भनेको उनीहरूले थप क्षति बेहोर्नु अघि यो युद्धलाई पूर्ण रूपमा अन्त्य गरून्,” उनले भने।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो युद्ध दुईदेखि तीन हप्ताभित्रै अन्त्य हुन सक्ने दाबी गर्दै आएका छन्।
तर अराघचीले इरान र अमेरिका बीच प्रत्यक्ष वार्ता नभएको दाबी गरे। “वार्ता भन्नाले दुई देशबीच सहमति खोज्ने संवाद हो, तर अहिले अमेरिका र इरानबीच त्यस्तो अवस्था छैन,” उनले स्पष्ट पारे।
यद्यपि उनले अमेरिकाका मध्यपूर्वका दूत स्टिभ विटकोफमार्फत सन्देश आदानप्रदान भइरहेको स्वीकार गरेका छन्। यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि दुवै देशबीच सन्देश आदानप्रदान भइरहेको र भविष्यमा प्रत्यक्ष भेटको सम्भावना रहेको बताएका छन्।
अराघचीले अमेरिकाले प्रस्ताव गरेको १५ बुँदे योजना प्रति इरानले कुनै प्रतिक्रिया नदिएको पनि बताए। यसले ट्रम्पको ‘इरानले अधिकांश माग स्वीकार गरिसकेको’ भन्ने दाबीलाई खण्डन गरेको छ।
इरानी पक्षले उक्त प्रस्तावलाई “अत्यधिक, अव्यावहारिक र असंगत” भन्दै आलोचना गरेको छ। अराघचीले अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दृष्टिकोण परिवर्तन गर्नुपर्ने समेत बताए।
“धम्की र समयसीमाको भाषामा इरानी जनतासँग कुरा गर्न सकिँदैन,” उनले भने।
यस घटनाक्रमले इरान–अमेरिका सम्बन्ध थप तनावपूर्ण बन्दै गएको संकेत गरेको छ भने क्षेत्रीय शान्ति प्रक्रियामा चुनौती थपिएको देखिएको छ।