राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी परिणामलाई “सबैको जित” का रूपमा व्याख्या गर्दै सरकार र संसदलाई प्रभावकारी बनाउन दलहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
रास्वपाका सभापति रवि लामिछानेले बूढानीलकण्ठस्थित आफ्नो निवासमा विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट तथा परामर्श सुरु गरेका छन्।
मंगलबार बिहान उनले आम जनता पार्टीका अध्यक्ष प्रभु साहसँग छलफल गरेका हुन्। भेटमा लामिछानेले परिणाममा रास्वपाको दुई तिहाइ देखिए पनि त्यसलाई समग्र नेपाली जनताको जितका रूपमा लिनुपर्ने धारणा राखेका थिए।
‘रास्वपाको मात्रै जित होइन, यो हामी सबै नेपालीको जित हो। सरकार र संसदको भूमिका प्रभावकारी बनाउन सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ,’ अध्यक्ष साहलाई उद्धृत गर्दै उनले भने।
छलफलका क्रममा मधेस र कर्णालीजस्ता पछाडि परेका क्षेत्रको एकीकृत विकासलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा पनि जोड दिइएको थियो। लामिछानेले यस्ता क्षेत्रको विकासमा सबै पक्षको साथ आवश्यक रहेको बताएका थिए।
उनको सचिवालयका अनुसार भेटमा विशेषगरी मधेसले परिवर्तन चाहेको जनादेशलाई आत्मसात् गर्दै पारस्परिक सहकार्यमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित थियो।
यसैबीच, मंगलबार नै लामिछानेले जनता समाजवादी पार्टी नेपालका नेता तथा राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरसँग पनि भेट गरेका छन्। बूढानीलकण्ठस्थित निवासमै भएको भेटमा वर्तमान राजनीतिक अवस्था, मधेसको विकास र प्राथमिकताका योजनाबारे कुराकानी भएको सचिवालयले जनाएको छ।
‘पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने विषयमा दुबै पक्ष एकमत देखिनुभएको छ,’ सचिवालयले जनाएको छ।