अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रण गर्ने सम्भावना औँल्याएका छन्।
फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु कब्जा गर्ने विकल्पबारे विचार भइरहेको बताएका हुन्। “मेरो प्राथमिकता इरानको तेल लिनु हो,” उनले भनेका छन्।
ट्रम्पले उक्त कदमलाई भेनेजुएलाको तेल उद्योगमाथि अमेरिकाले नियन्त्रण गर्न खोजेको रणनीतिसँग तुलना गरेका छन्। साथै, यस्तो कदम चालिए अमेरिकी सेना लामो समयसम्म त्यहाँ बस्नुपर्ने पनि उनले संकेत दिएका छन्।
“हामीसँग धेरै विकल्प छन्, खार्ग टापु लिने पनि हुन सक्छ, नलिने पनि,” ट्रम्पको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
खार्ग टापु इरानको अर्थतन्त्रका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ, जहाँबाट करिब ९० प्रतिशत तेल निर्यात हुने गर्दछ।
यसअघि मार्च १३ मा अमेरिकी सेनाले उक्त टापुमा रहेका सैन्य संरचनामाथि आक्रमण गरी दर्जनौँ लक्ष्य ध्वस्त पारेको जनाएको थियो।
ट्रम्पको पछिल्लो अभिव्यक्तिले मध्यपूर्वमा तनाव झनै बढ्ने संकेत देखिएको विश्लेषण गरिएको छ।