प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाइ नजिकको जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आज मुलुकको नयाँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो १२ बजेर ३४ मिनेटको शुभ साइतमा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम एकल बहुमतको सरकार गठन हुन लागेको यो ऐतिहासिक अवसर हो ।
शपथ ग्रहण समारोहलाई विशेष र सांस्कृतिक बनाउने तयारी गरिएको छ। रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार शपथ ग्रहणका क्रममा १०८ जना बटुकहरूबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुहरूबाट अष्ठमंगल पाठ र ७ वटा शंखबाट शंखनाथ गरिनेछ ।
यस धार्मिक तथा सांस्कृतिक अनुष्ठानका बीच प्रधानमन्त्रीको शपथसँगै केही मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ। समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज र उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिटसहित सानदार जित निकालेपछि सत्ताको बागडोर सम्हाल्न लागेको हो। झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मतका साथ निर्वाचित शाहलाई बिहीबार मात्रै पार्टीले संसदीय दलको नेता चयन गरेको थियो ।
हिजो नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाले पूर्णता पाएको हो । नयाँ सरकारको गठनसँगै मुलुकमा राजनीतिक स्थिरता र सुशासनको नयाँ युग सुरु हुने अपेक्षा गरिएको छ ।