आदित्य बिर्ला समूह (एबीजी), टाइम्स अफ इन्डिया समूह (टीओआई), बोल्ट भेन्चर्स (बोल्ट) र ब्ल्याकस्टोनको पर्पेचुअल प्राइभेट इक्विटी रणनीति (बीएक्सपीई) सम्मिलित कन्सोर्टियमले इन्डियन प्रिमियर लिग (आईपीएल) टोली रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) खरिद गरेको छ । यो कारोबार १.७८ अर्ब अमेरिकी डलर (करिब १६ हजार ७०६ करोड भारतीय रुपैयाँ) बराबरमा सम्पन्न भएको हो ।
क्रिकबजका अनुसार उक्त चार समूहले बेलायतस्थित डियाजियो पीएलसीअन्तर्गतको सहायक कम्पनी युनाइटेड स्पिरिट्स लिमिटेड (यूएसएल) सँग आरसिबीको १०० प्रतिशत सेयर खरिद गर्न अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतामा आईपीएल र विमेन्स प्रिमियर लिग (डब्ल्यूपीएल) अन्तर्गतका पुरुष तथा महिला दुवै टोली समेटिएका छन् ।
खरिद प्रक्रियामा एएन्डडब्ल्यू क्यापिटल, मोएलिस तथा खेतान एन्ड कम्पनीले कन्सोर्टियमलाई सल्लाहकार तथा कानुनी सहयोग प्रदान गरेका थिए भने यूएसएलतर्फ सिटी इन्डिया र एजेडबी पार्टनर्सले सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।
नयाँ स्वामित्व संरचना अनुसार आदित्य बिर्ला समूहका निर्देशक आर्यमान विक्रम बिर्ला अध्यक्ष नियुक्त भएका छन् भने टाइम्स अफ इन्डिया समूहका सत्यन गजवानी उपाध्यक्ष बनेका छन् । कन्सोर्टियममा बोल्ट भेन्चर्सका संस्थापक डेभिड ब्लिट्जर र बीएक्सपीईका प्रमुख कार्यकारी अधिकृत विरल पटेल पनि समावेश छन् ।
यो अधिग्रहण भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) तथा भारतको प्रतिस्पर्धा आयोगलगायत नियामक निकायको स्वीकृतिपछि मात्र पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ ।
आदित्य बिर्ला समूहका अध्यक्ष कुमार मंगलम बिर्लाले आईपीएलले विश्व खेलकुदमा ठूलो परिवर्तन ल्याएको उल्लेख गर्दै आरसिबी जस्तो प्रतिष्ठित फ्रेन्चाइजसँग जोडिन पाउनु गर्वको विषय भएको बताए । उनले यसलाई संस्थागत विकासलाई अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा विस्तार गर्ने अवसरका रूपमा लिएको पनि बताए ।
त्यस्तै, टाइम्स इन्टरनेट लिमिटेडका अध्यक्ष सत्यन गजवानीले आरसिबीलाई विश्वस्तरीय खेलकुद संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै बेंगलुरु र कर्नाटकसँग यसको सम्बन्ध अझ मजबुत बनाइने बताए ।
बोल्ट भेन्चर्सका डेभिड ब्लिट्जरले आरसिबीसँग विश्वस्तरीय समर्थक आधार रहेको उल्लेख गर्दै आईपीएललाई विश्वकै तीव्र रूपमा बढ्दो खेलकुद प्लेटफर्ममध्ये एक भएको बताए । बीएक्सपीईका सीईओ विरल पटेलले पनि भारतप्रतिको दीर्घकालीन प्रतिबद्धताअनुसार आरसिबीमा लगानी गरिएको जनाए ।
नवनियुक्त अध्यक्ष आर्यमान बिर्लाले आरसिबीको आगामी विकास यात्रामा नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताए । उनले खेल, सञ्चार र उपभोक्ता व्यवसायको अनुभवलाई एकीकृत गर्दै आरसिबीलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
आरसिबी सन् २००८ मा सुरु भएको आईपीएलका आठ मूल टोलीमध्ये एक हो, जसलाई त्यसबेला यूएसएलका अध्यक्ष विजय माल्याले १११.६ मिलियन डलरमा खरिद गरेका थिए । पछि डियाजियोले यूएसएल अधिग्रहण गरेसँगै सन् २०१६ मा आरसिबीको स्वामित्व आफ्नो नियन्त्रणमा लिएको थियो ।
सन् २०२५ जुन ४ मा आरसिबीको जितको उत्सवका क्रममा भएको भीड नियन्त्रण बाहिर गएर भएको दुर्घटनामा ११ जना समर्थकको मृत्यु भएपछि कम्पनीमाथि टोली बिक्री गर्न दबाब बढेको थियो । क्रिकेट आफ्नो मुख्य व्यवसाय नभएकाले डियाजियोले फ्रेन्चाइज बिक्री गर्ने निर्णय गर्दै गत नोभेम्बरमै प्रक्रिया सुरु गरेको थियो, जुन मार्च ३१ भित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।
यूएसएलका प्रबन्ध निर्देशक तथा सीईओ प्रवीण सोमेश्वरले नयाँ स्वामित्वमा आरसिबीको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गर्दै सबै सरोकारवालालाई धन्यवाद दिएका छन् । उनले कम्पनीले अब आफ्नो मुख्य पेय पदार्थ व्यवसायमा केन्द्रित हुने र दीर्घकालीन मूल्य सिर्जनामा ध्यान दिने बताए ।
आरसिबी ‘प्ले बोल्ड’ दर्शनसहित आईपीएल र डब्ल्यूपीएलकै सबैभन्दा सफल तथा लोकप्रिय फ्रेन्चाइजमध्ये एकका रूपमा स्थापित भइसकेको छ ।