अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण स्थगित गर्दै वार्ताको संकेत दिएका बेला इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेपछि मध्यपूर्वको तनाव झन् चुलिएको छ।
इजरायली सेनाका अनुसार इरानले विभिन्न चरणमा मिसाइल आक्रमण गर्दा तेल अवीव लगायतका क्षेत्रमा साइरन बजेको थियो। आकाशमै मिसाइल अवरोध गर्दा विस्फोटको आवाज सुनिएको र उत्तरी इजरायलका केही घरहरू अवशेष खसेर क्षतिग्रस्त भएका छन्। मानवीय क्षतिको भने खबर आएको छैन।
यसअघि ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका–इरानबीच “उत्पादक वार्ता” भएको दाबी गर्दै इरानको ऊर्जा संरचनामा आक्रमण गर्ने योजना पाँच दिनका लागि स्थगित गरेका थिए। सो घोषणापछि विश्व बजारमा सकारात्मक असर देखिँदै शेयर बजार उकालो लागेको र ब्रेन्ट क्रुडको मूल्य १०० डलरभन्दा तल झरेको थियो।
तर इरानका संसद् सभामुख मोहम्मद बाकेर कालीबाफले “कुनै वार्ता नभएको” दाबी गर्दै यसलाई ‘फेक न्यूज’ भनेपछि स्थिति फेरि अन्योलमा परेको छ। इरानी रिभोलुसनरी गार्ड (आईआरजीसी) ले पनि अमेरिकी लक्ष्यविरुद्ध नयाँ आक्रमण सुरु गर्ने चेतावनी दिएको छ।
विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरूमध्य पुनः खोल्न ट्रम्पले दिएको समयसीमा थप गरेपछि बजारमा आएको सुधार मंगलबार पुनः दबाबमा परेको छ। तेलको मूल्य फेरि उकालो लाग्दै १०४ डलर नाघेको छ।
ट्रम्पले आफ्ना दूत स्टिभ विट्कफ र जारेड कुशनरमार्फत इरानसँग वार्ता भइरहेको दाबी गरेका छन्। उनका अनुसार “धेरैजसो विषयमा सहमति नजिक” पुगेको छ। यद्यपि युरोपेली स्रोतहरूले प्रत्यक्ष वार्ता नभए पनि पाकिस्तान, इजिप्ट र खाडी राष्ट्रहरूले सन्देश आदान–प्रदान गरिरहेको बताएका छन्।
पाकिस्तानमा यसै साता प्रत्यक्ष वार्ता हुन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ, जहाँ उपराष्ट्रपति जेडी भान्स समेत सहभागी हुन सक्ने बताइएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने इरान र लेबनानमा आक्रमण जारी रहने बताएका छन्, यद्यपि उनले कूटनीतिक समाधानको सम्भावनालाई पूर्ण रूपमा नकारेका छैनन्।
यसबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग मिलेर होर्मुज जलडमरूमध्य सम्बन्धी विषयमा छलफल जारी राखेको बताएका छन्।
फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धमा हालसम्म २ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। इरानले अमेरिकाको चेतावनीपछि मध्यपूर्वका सहयोगी देशहरूको पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिँदै आएको छ, जसले विश्व ऊर्जा संकट अझै लम्बिन सक्ने संकेत दिएको छ।