इरानले आफ्नो ऊर्जा पूर्वाधारमाथि आक्रमण भए खाडी क्षेत्रका ऊर्जा तथा पानी संरचनामा प्रतिआक्रमण गर्ने चेतावनी दिएको छ। उक्त चेतावनीले क्षेत्रभर विद्युत् र खानेपानी आपूर्तिमा व्यापक अवरोधको जोखिम बढाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ४८ घण्टाभित्र हर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला नगरे अमेरिकी आक्रमण हुन सक्ने बताएका छन्। उनले सोमबार राति करिब ७:४५ (ईडीटी) सम्मको समयसीमा तोक्दै इरानका विद्युत् केन्द्रहरू निशानामा पर्ने चेतावनी दिएका छन्।
ट्रम्पको यो चेतावनी एक दिनअघि मात्र अमेरिका द्वन्द्व कम गर्ने सम्भावना रहेको संकेत दिएपछि आएको हो। तर, सोही समयमा अमेरिकी समुद्री सेना र भारी सैन्य उपकरणहरू क्षेत्रतर्फ गइरहेको जनाइएको छ।
इरानले भने अमेरिकी चेतावनीलाई अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएको छ। इरानी सैन्य प्रवक्ता इब्राहिम जोल्फाकारीले शत्रुपक्षले इरानको ऊर्जा संरचनामा आक्रमण गरे खाडी क्षेत्रका अमेरिकी र सहयोगी मुलुकका ऊर्जा, सूचना प्रविधि तथा पानी प्रशोधन केन्द्रहरूलाई निशाना बनाइने बताएका छन्।
यसैबीच, इजरायलका उत्तरी र केन्द्रीय क्षेत्र, विशेषगरी तेल अभिवसहितका स्थानहरूमा आइतबार राति हवाई हमलाको साइरन बजाइएको छ। इरानबाट मिसाइल आक्रमण हुन सक्ने चेतावनी दिइएको थियो।
इजरायली सेनाले सोमबार बिहान तेहरानका पूर्वाधारहरूलाई लक्षित गर्दै व्यापक आक्रमण सुरु गरिएको जनाएको छ।
दुवै पक्षबाट नागरिक पूर्वाधारमा प्रतिआक्रमण हुने सम्भावनाले अन्तर्राष्ट्रिय बजार, विशेषगरी तेल बजारमा अस्थिरता बढाएको छ। एशियाली कारोबार सुरु हुँदा नै तेलको मूल्य उतारचढावपूर्ण देखिएको छ।