अमेरिकाको न्युयोर्कस्थित ला गार्डिया विमानस्थलमा आइतबार राति एयर क्यानडाको विमान र दमकल गाडी एकआपसमा ठोक्किएका छन्।
पोर्ट अथोरिटी अफ न्युयोर्क एन्ड न्यु जर्सीका अनुसार राति करिब ११:४० बजे एयर क्यानडाको तर्फबाट सञ्चालन गरिएको जाज एभिएसनको उडानले अर्को घटनामा प्रतिक्रिया जनाउन पुगेको विमानस्थलको आगलागी तथा उद्धार गाडीलाई ठक्कर दिएको हो।
घटनापछि तुरुन्तै आपतकालीन उद्धार तथा सुरक्षा प्रक्रिया सक्रिय गरिएको र आवश्यक अनुसन्धानका लागि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको जनाइएको छ। घाइतेबारे भने हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन।
घटनास्थलका तस्बिर तथा भिडियोहरूमा विमानको अगाडिको भाग गम्भीर रूपमा क्षतिग्रस्त भएको देखिन्छ। न्युयोर्क सिटी फायर डिपार्टमेन्टले पनि राति करिब ११:३८ बजे विमान र सवारीसाधन ठोक्किएको सूचनापछि उद्धार टोली खटाइएको जनाएको छ।
फेडरल एभिएसन प्रशासनले घटनापछि “विमान आपतकालीन अवस्था” भन्दै ला गार्डियामा उडान अवतरण तथा प्रस्थान रोक (ग्राउन्ड स्टप) जारी गरेको थियो। एफएएका अनुसार विमानस्थल सोमबार दिउँसो २ बजेसम्म बन्द रहने अपेक्षा गरिएको छ।
उक्त विमान एयर क्यानडाको उडान संख्या ८६४६ थियो, जुन क्षेत्रीय वायुसेवा जाजद्वारा सञ्चालन गरिएको थियो। सीआरजे–९०० विमान मोडेलको उक्त विमानमा करिब ७६ यात्रु अट्ने क्षमता रहेको छ।
उडान मोन्ट्रियल ट्रुडो अन्तर्राष्ट्रिय विमानस्थलबाट राति १०:३० बजेपछि उडेको थियो र करिब एक घण्टापछि ला गार्डियामा अवतरण गरेको थियो। अवतरणअघि विमान करिब १३० माइल प्रतिघण्टा गतिमा रहेको बताइएको छ।
घटनाअघि हवाई यातायात नियन्त्रण कक्षले एक सञ्चालन गाडीलाई धावनमार्ग पार गर्न अनुमति दिएको र केही क्षणपछि तत्काल रोक्न निर्देशन दिएको अडियोमा सुनिन्छ। त्यसपछि विमान र गाडी ठोक्किएको पुष्टि गरिएको थियो।
नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले घटनाबारे जानकारी प्राप्त भएको जनाएको छ, तर थप विवरण भने सार्वजनिक गरेको छैन।
यसबीच, घटनास्थलमा आपतकालीन सवारीसाधनहरूको बाक्लो उपस्थिति देखिएको छ। यसअघि मौसम खराबी—हल्का वर्षा र कुहिरो—का कारण पनि उडानहरू प्रभावित हुने चेतावनी दिइएको थियो।