दक्षिण कोरियाले होर्मुज जलडमरू हुँदै हुने जहाज आवागमनलाई सुरक्षित र निर्बाध बनाउन अन्तर्राष्ट्रिय प्रयासमा सहभागी हुन इच्छुक रहेको जनाएको छ।
दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको वक्तव्यमा उक्त जलडमरूमा अवरोध हुँदा देशको ऊर्जा आपूर्ति र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको उल्लेख गरेको छ। सोही कारण सरकारले इन्धनको मूल्य नियन्त्रण गर्नुका साथै कोइला र आणविक ऊर्जातर्फ झुकाव बढाएको जनाएको छ।
“संयुक्त वक्तव्यमा सहभागी हुनु होर्मुज जलडमरूमा सुरक्षित र स्वतन्त्र आवागमन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायका प्रयासमा योगदान दिन हाम्रो इच्छालाई पुष्टि गर्ने महत्वपूर्ण कदम हो,” मन्त्रालयले जनाएको छ।
यसअघि बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स र जापानले संयुक्त वक्तव्य जारी गर्दै खाडी क्षेत्रमा व्यावसायिक जहाजमाथि इरानद्वारा गरिएका आक्रमणको निन्दा गरेका थिए। साथै, होर्मुज जलडमरू प्रभावकारी रूपमा बन्द भएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सुरक्षित आवागमन सुनिश्चित गर्न आवश्यक पहलमा योगदान दिन तयार रहेको जनाएका थिए।
यसै क्रममा बहराइन र क्यानडाले पनि उक्त प्रयासमा सहभागी हुन इच्छुकता देखाएका छन्।
यस पृष्ठभूमिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगी राष्ट्रहरूलाई होर्मुज जलडमरू सुरक्षाका लागि युद्धपोत र माइनस्वीपर पठाउन आह्वान गरेका थिए। तर अहिलेसम्म कुनै पनि राष्ट्रले ठोस प्रतिबद्धता जनाएका छैनन्। पछि ट्रम्पले नाटो सहयोगीहरूलाई सहयोग नगरेको भन्दै “डरपोक” भन्दै आलोचना गरेका थिए।