इजरायल–अमेरिका र इरानबीचको युद्धको असर खाडी मुलुकसम्म फैलिँदा सामाजिक सञ्जालमा आक्रमणका भिडियो र तस्बिर पोस्ट गरेको आरोपमा ७ नेपाली कामदार पक्राउ परेका छन्। सुरक्षा संवेदनशील सामग्री ‘भाइरल’ बनाउने प्रयास गरेपछि यूएई, साउदी अरब र कुवेतमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक जना नेपाली पक्राउ परेका छन्। उनीहरूले इरानले यूएई लगायत क्षेत्रमा गरेको ड्रोन तथा मिसाइल आक्रमणका दृश्यहरू कैद गरी फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोग लगाइएको छ।
यूएई सरकारले यसअघि नै सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै यस्ता सामग्री सार्वजनिक नगर्न कडा निर्देशन जारी गरेको थियो। उक्त निर्देशन उल्लंघन गर्दै भिडियो खिच्ने र फैलाउने कार्य भएपछि यूएईको महान्यायाधिवक्ता कार्यालयले पक्राउ गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
खाडी मुलुकहरूमा साइबर अपराध र सुरक्षासम्बन्धी कानुन कडा रहेको छ। यूएईको कानुनअनुसार दोषी ठहरिएमा एक वर्षसम्म कैद सजाय, त्यसपछि निष्कासन (डिपोर्ट) र १ लाख यूएई दिराम (करिब ३६ लाख रुपैयाँ) सम्म जरिवाना हुन सक्ने व्यवस्था छ।
परराष्ट्र मन्त्रालयले खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरूलाई स्थानीय कानुन र सुरक्षा संवेदनशीलताको पालना गर्न पुनः आग्रह गरेको छ। युद्ध वा सैन्य गतिविधिसम्बन्धी तस्बिर/भिडियो खिच्ने, सेयर गर्ने वा अफवाह फैलाउने कार्य नगर्न मन्त्रालयले सचेत गराएको छ।
मन्त्रालयले सम्बन्धित देशस्थित नेपाली दूतावासमार्फत पक्राउ परेकाहरूको अवस्थाबारे जानकारी लिने तथा आवश्यक कानुनी सहयोगका लागि समन्वय गरिरहेको जनाएको छ।