मध्यपूर्वमा बढ्दो तनावका बीच ८२ हजारभन्दा बढी नेपालीले कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा विवरण दर्ता गराएका छन्, जसमध्ये सुरुवातमा करिब ६ हजारले आफू असुरक्षित रहेको जनाए पनि पछिल्ला दिनमा यस्तो संख्या उल्लेख्य रूपमा घटेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले हालसम्म ८२ हजार एक सय नेपाली नागरिकले अनलाइन दर्ता गराएको जानकारी दिए। उनका अनुसार प्रारम्भिक चरणमा करिब ६ हजार जनाले असुरक्षित महसुस गरेको जानकारी गराएका थिए।
तर पछिल्ला दिनहरूमा असुरक्षित महसुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घट्दै गएको उनले बताए। इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको पनि उनले उल्लेख गरे।
क्षेत्रीका अनुसार प्रारम्भिक दिनहरूमा सुरक्षासम्बन्धी जिज्ञासा धेरै आए पनि अहिले श्रम स्वीकृतिको विषयमा जानकारी लिनका लागि बढी सम्पर्क हुने गरेको छ।
उनले मन्त्रालयका १० वटै नियोगमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको जानकारी दिए।
ब्रिफिङका क्रममा उनले हाल कुनै पनि नेपाली नागरिक विदेशको ट्रान्जिटमा नरहेको स्पष्ट पारे। साथै, जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उनले बताए।
सरकार मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति गम्भीर रहेको उल्लेख गर्दै आवश्यक परे उद्धारका लागि समेत तयार रहेको मन्त्रालयले जनाएको छ।