अफगानिस्तानले सोमबार राति राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताका लागि रहेको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गरेको आरोप लगाउँदै कम्तीमा ४०० जनाको मृत्यु र करिब २५० जना घाइते भएको जनाएको छ। तर पाकिस्तानले भने अस्पताल वा कुनै नागरिक संरचनामा आक्रमण नगरेको दाबी गर्दै आरोपलाई अस्वीकार गरेको छ।
अफगान सरकारका उप–प्रवक्ता हमदुल्लाह फिट्रतका अनुसार स्थानीय समयअनुसार राति करिब ९ बजे भएको आक्रमणले २,००० शय्याको उक्त अस्पतालको ठूलो भाग ध्वस्त पारेको हो। उनले उद्धार टोलीहरू आगो नियन्त्रण गर्न र भग्नावशेषबाट शव निकाल्न निरन्तर खटिएको जानकारी दिएका छन्।
स्थानीय टेलिभिजनहरूले सार्वजनिक गरेका दृश्यहरूमा सुरक्षाकर्मीहरूले टर्चको सहायताले घाइतेहरूलाई बाहिर निकालिरहेका र दमकलकर्मीहरूले आगो निभाउने प्रयास गरिरहेको देखिन्छ।
अफगान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले घटनाको कडा निन्दा गर्दै पाकिस्तानले “अस्पताल र नागरिक स्थललाई लक्षित गरी अमानवीय कार्य गरेको” आरोप लगाएका छन्। उनले यस्तो कदमलाई मानवताविरुद्धको अपराध भएको बताएका छन्।
यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले काबुलमा कुनै अस्पताललाई निशाना नबनाइएको स्पष्ट पारेका छन्। पाकिस्तानको सूचना मन्त्रालयले काबुल र नङ्गरहारमा गरिएका आक्रमणहरू सैन्य संरचना र आतंकवादी पूर्वाधारमा केन्द्रित रहेको दाबी गर्दै नागरिक क्षति हुन नदिने गरी कारबाही गरिएको जनाएको छ।
यस घटनाअघि नै दुई देशबीच सीमा क्षेत्रमा गोली हानाहान भएको थियो, जसमा अफगानिस्तानतर्फ कम्तीमा चार जनाको मृत्यु भएको बताइएको छ। पछिल्ला तीन सातादेखि जारी झडपलाई दुवै देशबीचको वर्षौंदेखिको सबैभन्दा घातक द्वन्द्वका रूपमा हेरिएको छ।
यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अफगानिस्तानलाई आतंकवाद नियन्त्रणका लागि तत्काल कदम चाल्न आह्वान गरेको छ। पाकिस्तानले अफगानिस्तानले पाकिस्तानी तालिबान लगायत समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने काबुलले त्यसलाई अस्वीकार गर्दै आएको छ।
फेब्रुअरी अन्त्यदेखि चर्किएको द्वन्द्वपछि दुवै देशले एकअर्कामाथि हवाई आक्रमण र प्रतिआक्रमण गर्दै आएका छन्। पाकिस्तानले आफू अफगानिस्तानसँग “खुला युद्ध” को अवस्थामा रहेको घोषणा गरिसकेको छ, जसले अन्तर्राष्ट्रिय समुदायमा थप चिन्ता बढाएको छ।