मध्यपूर्वमा बढ्दो द्वन्द्व र सुरक्षा जोखिमका कारण सरकारले साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति स्थगन गरेको छ। तर फागुन महिनामा ५२ हजार ९ सय ४४ नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगार विभागका तथ्यांक अनुसार फागुन महिनामा ५२,९४४ जनाले श्रम स्वीकृति (नयाँ तथा पुनः स्वीकृति) लिएका छन्। यसमध्ये ४६,४५२ जना पुरुष र ६,३९२ जना महिला रहेका छन्। फागुन महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या २८,३८३ रहेको छ भने २४,५६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
इजरायल–अमेरिका र इरानबीचको युद्ध सुरु भएको १७ दिन भइसकेको छ। इरानले खाडी क्षेत्र र अन्य देशमा रहेका अमेरिकी सैन्य बेस र क्याम्पहरूमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ। यसले यूएई, कतार, साउदी, ओमान, बहराइन लगायत देशमा रहेका नेपालीहरूको सुरक्षा चिन्ता बढाएको छ।
सरकारले फागुन १७ गते श्रममन्त्रीस्तरीय निर्णयअनुसार अर्को सूचना नआएसम्मका लागि माथिका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको जनाएको छ।
फागुन महिनामा सबैभन्दा बढी श्रम स्वीकृति मलेसियामा १२,६०१ जना, यूएईमा ११,४९२ जना, कतारमा ६,७७५ जना र साउदी अरेबियामा ६,२२५ जना लिएका छन्। फागुनको दोस्रो सातासम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कारण संख्या उल्लेख्य देखिएको छ।
यसअघि माघ महिनामा ७०,५०३ जना, पुसमा ६२,५५९ जना र मंसिरमा ६५,७०५ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।