युरोपेली च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच हुने ‘फाइनलिसिमा’ फुटबल खेल रद्द गरिएको छ। युरोपेली फुटबल महासंघ (युएफए) ले आइतबार एक वक्तव्य जारी गर्दै मध्यपूर्वमा जारी युद्ध र अस्थिर राजनीतिक परिस्थितिका कारण खेल आयोजना गर्न नसकिने जनाएको हो।
स्पेन र अर्जेन्टिनाबीचको खेल मार्च २७ मा कतारको लुसाइल स्टेडियम, दोहामा आयोजना हुने तय गरिएको थियो। उक्त खेलमा विश्व फुटबलका चर्चित खेलाडी लियोनेल मेस्सी र स्पेनका युवा स्टार लामिन यामाल आमनेसामने हुने अपेक्षा गरिएको थियो।
युएफएको अनुसार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा त्यसको प्रत्युत्तरमा इरानले छिमेकी देशहरूमा प्रहार गरेपछि खाडी क्षेत्रमा तनाव बढेको छ। यसको प्रभावका कारण धेरै देशको हवाई यातायात प्रभावित भएको र सुरक्षा चिन्ताका कारण विभिन्न खेलकुद कार्यक्रमहरू पनि रद्द हुन थालेका छन्।
स्पेन र अर्जेन्टिनाबीचको खेल कतार फुटबल फेस्टिभलको मुख्य आकर्षणमध्ये एक थियो। पाँच दिनसम्म चल्ने उक्त फेस्टिभलमा मार्च २६ मा इजिप्ट–साउदी अरेबिया तथा कतार–सर्बिया, मार्च ३० मा इजिप्ट–स्पेन र साउदी अरेबिया–सर्बिया तथा मार्च ३१ मा कतार–अर्जेन्टिना बीचका खेलहरू पनि तय गरिएका थिए।
युएफाले कतारका आयोजकसँग छलफल गरेपछि वर्तमान राजनीतिक परिस्थितिका कारण फाइनलिसिमा खेल आयोजना गर्न नसकिने निष्कर्षमा पुगेको जनाएको छ।
सर्बियाले भने अब मार्च २७ मा स्पेनसँग आफ्नो मैदानमा खेल्नेछ। त्यसपछि चार दिनपछि साउदी अरेबियाको राष्ट्रिय टोलीलाई घरेलु मैदानमा आतिथ्य गर्ने सर्बियाको फुटबल संघले जनाएको छ।
स्थानीय आयोजक समितिले हवाई क्षेत्रको अवरोध र यात्रामा लगाइएका प्रतिबन्धका कारण धेरै खेलाडी, अधिकारी र समर्थकलाई यात्रा गर्न कठिन हुने भएकाले यस्तो निर्णय गरिएको जनाएको छ। फेस्टिभलका लागि टिकट खरिद गरेका सबै समर्थकलाई पूर्ण रकम फिर्ता गरिने पनि बताइएको छ।
युएफाले वैकल्पिक स्थानमा खेल गराउने प्रयास गरेको थियो। पहिलो प्रस्ताव अनुसार स्पेनको सान्तियागो बर्नाबेउ स्टेडियम, म्याड्रिडमा दुवै टोलीका समर्थकलाई समान रूपमा प्रवेश दिँदै खेल आयोजना गर्ने योजना थियो। अर्को प्रस्ताव अनुसार दुई लेगमा खेल गर्ने योजना बनाइएको थियो—पहिलो खेल म्याड्रिडमा र दोस्रो खेल अर्जेन्टिनाको ब्युनस आयर्समा।
तर अर्जेन्टिन फुटबल संघले दुवै प्रस्ताव अस्वीकार गरेको युएफाले जनाएको छ। अर्जेन्टिनाले विश्वकपपछि खेल्ने प्रस्ताव गरेको थियो, तर स्पेनसँग त्यस समयमा खाली मिति उपलब्ध नभएकाले सहमति हुन सकेन।
यसअघि सन् २०२२ मा वेम्बली स्टेडियम, लन्डनमा भएको फाइनलिसिमा खेलमा अर्जेन्टिनाले इटालीलाई ३–० ले पराजित गरेको थियो।